'जनताको जलविद्यतु आयोजना कार्यक्रम' घोषणा गरिँदै
काठमाडौं, फागुन २ : सरकारले जनताबाट सात खर्ब रुपैयाँ उठाएर जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । करिब तीन करोड नेपालीलाई जलविद्युत कम्पनीको सेयरधनी ....
काठमाडौं, फागुन २ : सरकारले जनताबाट सात खर्ब रुपैयाँ उठाएर जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । करिब तीन करोड नेपालीलाई जलविद्युत कम्पनीको सेयरधनी बनाउने गरि आज प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनताको जलविद्युत आयोजना कार्यक्रम’ घोषणा गर्न लागेका छन् ।
सरकारले ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको सेयरधनी’ नारा दिएर उक्त कार्यक्रम घोषणा गर्न लागेको हो । राष्ट्रिय सभागृहबाट प्रधानमन्त्री ओलीले कार्यक्रम घोषणा गर्ने तयारी गरिएको छ ।
सातै प्रदेशबाट १९ जलविद्युत आयोजना छनोट गरि तिनमा हरेक नागरिकको सेयर लगानी गर्ने योजनासहितको कार्यक्रम ल्याउन लागिएको हो ।
हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले तयार गरेको अवधारणापत्रमा ती आयोजनामा ६ खर्ब ९५ अर्ब ८० करोड रुपैयाँ लगानी आवश्यक पर्ने उल्लेख छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यो कार्यक्रम अगाडी सारेको हो । लगानीकर्तालाई आयोजनाको प्रतिफल १५ देखि १७ प्रतिशतसम्म ग्यारेन्टी हुने गरि कार्यक्रम ल्याइएको मन्त्रालयले जनाएको छ ।
हरेक जनतालाई विद्युतको सेयरधनी बनाउने गरि छनोट गरिएका तीन हजार चार सय ७९ मेगावाटका आयोजनाको प्रतिमेगावाट लागत २० करोड रुपैयाँ अनुमान गरिएको छ ।
सात वर्ष आयोजना निर्माणको अवधि तोकेर तयार गरिएको अवधारणापत्रमा नौ सरकारी निकायबाट ऋण जुटाउने प्रस्ताव गरिएको छ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, एचआइडिसिएल, नेपाल टेलिकम, राष्ट्रिय बिमा संस्थान, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र सरकारबाट ऋण उठाउने योजना छ ।
सर्वसाधारणले आयोजनामा सेयर लगानी गर्ने व्यवस्थाका लागि नेपाल धितोपत्र बोर्डको नियममा आवश्यक संशोधन भएको मन्त्रालयले जानकारी दिएको छ । लगानीका लागि आवेदन दिने व्यक्तिले शुरुमा लिने प्रतिबद्धता गरेको सेयर रकमको १० प्रतिशत जम्मा गर्नुपर्ने अवधारणापत्रमा उल्लेख छ ।






