Kathmandu Press

दम्पत्तिनै दुर्घटनामा : पाेखराकाे हेमजा शोकमा

दम्पत्तिनै दुर्घटनामा : पाेखराकाे हेमजा शोकमा

गण्डकी, माघ १ : पोखराको हेमजा हनुमान चोकका राजन सापकोटाको घरमा आज बिहानैदेखि खुसियाली थियो । एक त माघे सङ्क्रान्ति पर्व अर्कोतर्फ अमेरिकाबाट आउँदै गरेका राजन ।

अमेरिकाबाट शनिबार काठमाडौँ झरेका सापकोटालाई लिन उनकी श्रीमती आशिका हिजो नै काठमाडौँ पुगेकी थिइन। माघे सङ्क्रान्ति पनि आजै परेको हुँदा सापकोटा दम्पत्ति यति एयरलायन्सको जहाज चढी पोखरा आउँदै थिए। पोखराको विमानस्थलमा झर्न नपाउँदै दम्पत्ति नै दुर्घटनामा परे।

सापकोटा आउने कुरा छरछिमेक सबैलाई थाहा भइसकेको थियो । बिहानसम्मको खुसियाली छाएको सापकोटाको परिवार यतिखेर शोकमा डुबेको छ । सापकोटाकी आमा गीता दुर्घटनाको खबरसँगै बेहोस बनेकी छन। उनका छरछिमेक सबैका आँखा रसाएका छन् ।

डिभी परेर दुई वर्षअघि मात्र अमेरिका गएका सापकोटा गर्त वर्ष बिहे गर्नका लागि पोखरा आएका थिए। गत वर्ष माघको १९ गते विवाह गरेका सापकोटा पुनःअमेरिका फर्की शनिबार मात्रै नेपाल आएका थिए। उनका काका प्रकाशचन्द्रका अनुसार घरपरिवारसँग भेटघाट एवं बिहेको एक वर्षपछिको उत्सव(ज्युँती मेटेर) मनाएर फर्कने गरी राजन आएका थिए।

'दुर्घटनाको खबरसँगै हामी छरछिमेक सबै शोकमा डुबेका छौँ,' उनले भने। उता दुर्घटनाले आशिकाका माइतीहरू पनि शोकमा छन् । सापकोटासँगै हेमजाकै जीतेन्द्रबहादुर कुँवर र उनकी श्रीमती भगवती पनि उक्त विमानमा सँगै दुर्घटनामा परेका छन। घरायसी कामकाजको सिलसिलामा काठमाडौँ गएका कुँवर दम्पत्तिले छोराछोरीलाई भने शनिबार बसमा पोखरा पठाएका थिए। जहाज दुर्घटनामा हेमाजाकै चार जना परेपछि यतिखेर सिङ्गो हेमजा शोकमा डुबेको छ ।

प्रकाशित मिति: १९:३१ बजे, आइतबार, माघ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्