लुम्बिनी बन्यो नेपाल टि–२० लिगको च्याम्पियन
बुधबार कीर्तिपुरस्थित टियू मैदानमा भएको फाइनलमा विराटनगर सुपर किंग्समाथि २४ रनको जित निकाल्दै लुम्बिनी च्याम्पियन बनेको हो।
काठमाडाैं, पुस २७ : लुम्बिनी अल स्टार नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक आयोजना गरेको नेपाल टि–२० लिगको च्याम्पियन बनेको छ। बुधबार कीर्तिपुरस्थित टियू मैदानमा भएको फाइनलमा विराटनगर सुपर किंग्समाथि २४ रनको जित निकाल्दै लुम्बिनी च्याम्पियन बनेको हो।
विजेता बनेको लुम्बिनीले ५५ लाख रुपैयाँ प्राप्त पाउँदा उपविजेता बनेको विराटनगरले ३० लाख रुपैयाँ प्राप्त गर्यो । यस्तै तेस्रो बनेको जनकपुर रोयल्सले १० लाख र चौथो बनेको काठमाडौं नाइट्सले ५ लाख रुपैयाँ प्राप्त गर्यो।
पहिला ब्याटिङ गर्दै लुम्बिनीले दिएको १३४ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १०९ रन मात्र बनाउन सक्यो । उसका लागि अर्जुन साउदले सर्वाधिक ३४ रन बनाउँदा पृथु बास्कोटाले ३१ रनको योगदान दिए।
यस्तै हुसेन टलटले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् । विराटनगरलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका स्पिनरले उत्कृष्ट बलिङ गरे। उसका हर्मप्रित सिंह र सागर ढकालले समान २ तथा विशुल शर्मा र किशोर महतोले मसान १ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेका लुम्बिनी अल स्टार १९.२ ओभरमा १३३ रनमा आउट भयो।
उसका लागि लहिरु मिलन्थाले २८ बलमा समान ३ चौका र छक्का प्रहार गर्दै सर्वाधिक ४१ रन बनाए भने हार्मप्रित सिंहले १८ बलमा ३ चौका र २ छक्का प्हार गर्दै ३० रन बनाए।
यी दुईले पहिलो विकेटका लागि ६४ रनको साझेदारी गर्दै लुम्बिनीलाई राम्रो सुरुआत दिएका थिए। तर, त्यसपछि लुम्बिनीले लागातार विकेट गुमाउँदै मध्यम स्कोरमै समेटियो। उसका कप्तान दीपेन्द्रसिंह ऐरीले २० र इशान पाण्डेले १८ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
विराटनगरका नन्दन यादव र राज रक्की नन्ननले समान २ विकेट लिँदा हुसैन टलट, सूर्य तामाङ, किओन जोसेफ र रोहित पौडेलले समान १ विकेट लिए।











