Kathmandu Press

यस्तो छ संसदबाट प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया 

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको बैठक १ बजेका लागि तय भएको छ। 
यस्तो छ संसदबाट प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया 

काठमाडौं, पुस २६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन्। संविधानको धारा ७६ को उपधारा (२) वा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ। प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको बैठक १ बजेका लागि तय भएको छ। 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका हुन्। त्यसकारण यी सातै दलले उनलाई विश्वासको मत दिने निश्चित छ। 

सरकारलाई समर्थन नगरिसकेको एकीकृत समाजवादीले पनि प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ भने नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिनेगरी निर्णय गर्दैछ।

प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिने निश्चित प्रक्रिया छ। विश्वासको मत लिन प्रधानमन्त्री कार्यालयबाट संघीय संसदलाई विश्वासको मत लिन सूचना दिनुपर्छ। सूचनापछि विश्वासको मतका लागि संसद सचिवालयले आफ्नो तयारी थाल्छ। प्रधानमन्त्री कार्यालयले विश्वासको मत लिने सूचना संसद सचिवालयलाई दिइसकेको छ। सोही अनुसार संसद सचिवालयले पनि विश्वासको मतका लागि आफ्ना काम अघि बढाइसकेको छ।

सभामुखले प्रधानमन्त्रीले विश्वासको मत लिने बारे सूचना पढेर सुनाउने

प्रधानमन्त्रीले विश्वासको मत लिनेसम्बन्धी सूचना २५ पुसको प्रतिनिधिसभाको बैठकमा सभामुख (सभामुख नभएको बेला ज्येष्ठ सदस्यबाट) बाट पढेर सुनाइने छ। नयाँ संसदको पहिलो बैठकमा प्रतिनिधि सभाका सदस्यहरूलाई जानकारी गराइसकेको प्रधानमन्त्रीको विश्वासको मत लिने दिन प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई आफूलाई विश्वासको मत लिन सभामुखले प्रस्ताव पेस गर्न समय दिन्छन्। सभामुखले दिएको समयमा प्रधानमन्त्रीले २६ पुसको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिन संसदमा सहभागी दलहरूसँग प्रस्ताव राख्नेछन्।

विश्वासको मत लिनुअघि प्रधानमन्त्रीको सम्बोधन

प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुअघि संसदमा सांसदहरूलाई आफूलाई प्रधानमन्त्रीमा विश्वासको मत दिन प्रस्ताव पेस गर्नेछन्। प्रस्ताव पेससँगै प्रधानमन्त्रीले आफूलाई विश्वासको मत किन दिने भन्नेबारेमा आफ्नो सम्बोधन गर्नेछन्। प्रधानमन्त्रीले २६ पुसमा विश्वासको मत लिनेछन्। प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ।

प्रधानमन्त्रीको सम्बोधनपछि सांसदहरूको छलफल

प्रधानमन्त्रीको सम्बोधनपछि संसदमा प्रधानमन्त्रीको विश्वासको मत लिने प्रस्तावबारे सांसदहरूले बोल्न चाहेमा सभामुखले उनीहरूलाई बोल्न समय उपलब्ध गराउँछन्। सभामुखले दिएको समयसीमाभित्र प्रधानमन्त्रीको विश्वासको मत लिने प्रस्तावमा सांसदहरूले आफ्नो धारणा राख्नेछन्। संसदमा यदि पूर्वप्रधानमन्त्री र पूर्वसभामुखले बोल्न चाहेको खण्डमा भने समयको पाबन्दी रहँदैन। उनीहरूले बोल्न चाहेमा पर्याप्त समय पाउनेछन्। सबै सांसदले विश्वासको मत दिने वा नदिने भन्नेबारेमा संसदमा बोल्न चाहे भने विश्वासको मत लिने प्रक्रिया लम्बिनेछ।

तर, संसदमा रहेका ७ भन्दा बढी दलहरूले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्ने बताइसकेकाले त्यो अवस्था आउने देखिँदैन। छलफल सकिसकेपछि प्रतिनिधिसभाका सभामुखले प्रधानमन्त्रीलाई बोल्न समय उपलब्ध गराउँछन्।

प्रधानमन्त्रीको जवाफ

प्रतिनिधिसभामा आफूले राखेको विश्वासको मत दिने प्रस्तावमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनेछन्। प्रधानमन्त्रीले सांसदहरूले गरेका प्रश्नको जवाफ दिइसकेपछि संसदमा मत विभाजनको प्रक्रिया सुरु हुनेछ।

प्रस्ताव निर्णयार्थ प्रस्तुत

संसदमा मत विभाजन भइसकेपछि प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिन राखेको प्रस्ताव संसदमा निर्णयार्थ प्रस्तुत हुन्छ। त्यो प्रस्ताव भने मत विभाजनबाट हुन्छ। निर्णयार्थ प्रस्तुत भइसकेपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रक्रिया सुरु हुन्छ। सदस्यहरूलाई प्रस्तावको पक्षमा र विपक्षमा दस्तखतसहितको मत दिन समय उपलब्ध गराइन्छ। तर, प्रधानमन्त्रीको विश्वासको मत लिन भने ध्वनि मतको व्यवस्था हुँदैन।

मत सच्याउन पाउने अवसर

प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेपछि पनि सांसदहरूलाई आफ्नो मत सच्याउन सभामुखले समय उपलब्ध गराउँछन्। सभामुखले उपलब्ध गराएको समयसीमामा सांसदहरूले आफूले प्रधानमन्त्रीका लागि दिएको विश्वासको मत सच्याउन पाउनेछन्। यो प्रक्रिया सकिएपछि सभामुखले प्रधानमन्त्रीले पाएको विश्वासको मतको नतिजा सुनाउनेछन्। विश्वासको मतको परिणाम सुनाइसकेपछि उक्त प्रस्ताव राष्ट्रपतिसमक्ष संसद सचिवालयले लेखेर पठाउँछ। प्रधानमन्त्रीले पेस गरेको विश्वासको मत सभाबाट बहुमतका साथ अनुमोदन भएपछि संवैधानिक व्यवस्था बमोजिम विश्वासको मत प्राप्त भएको मानिन्छ।

नेकपा एसका सांसदलाई पार्टीको ह्वीप लाग्छ ?

राजनीतिक दल सम्बन्धी ऐनले विश्वासको मत वा अविश्वासको प्रस्तावमा दलीय ह्वीप जारी भए मान्नुपर्ने व्यवस्था स्पष्ट गरेको छ। संविधानको कुन उपधारामा ह्वीप लाग्ने र कुनमा नलाग्ने भन्ने व्यवस्था भने गरेको देखिँदैन। यतिबेला नेकपा एकीकृत समाजवादी निर्वाचनमा राष्ट्रिय दल बन्न असफल भयो। जसका कारण आम मानिसमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई ह्वीप लाग्छ कि लाग्दैन भन्ने जिज्ञासा छ। तर, संसद सचिवालय भने एकीकृत समाजवादी पार्टीबाट निर्वाचित सांसदलाई पनि पार्टीको ह्वीप लाग्ने बताउँछ। 

प्रकाशित मिति: ११:४५ बजे, मंगलबार, पुस २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्