गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

काठमाडौं, पुस २५ : गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त भएका छन् ।
प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधार २ बमोजिम अधिकारीलाई गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुखले गत पुस २१ गते ५ दिनको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान गरेकोमा अधिकारीले ३३ प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए।
साठी सदस्यीय गण्डकी प्रदेशसभामा नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)को उनलाई समर्थन छ । चुनावपछि एकीकृत समाजवादीमा प्रवेश गरे पनि राजीव गुरुङले स्वतन्त्र सांसदकैरुपमा अधिकारीलाई समर्थन गरेका छन् ।
एमाले स्थायी कमिटी सदस्य एवं सङ्गठन विभाग प्रमुखसमेत रहेका अधिकारीले कास्की निर्वाचन क्षेत्र १(१) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । मुख्यमन्त्री अधिकारीलाई आजै प्रदेश प्रमुख गुरुङले शपथ ग्रहण गराउने कार्यक्रम छ ।











