लोसपाका भण्डारी र नेमकिपाका सुवालले संसदमा के भने?
सुवालले संसदलाई रबर स्टाम्प नभई प्राज्ञिक थलो बनाउनुपर्नेमा जाेड दिए।
काठमाडाैं, पुस २५ : लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का नेता शरतत्सिंह भण्डारीले संविधानलाई पूर्णता दिएर अगाडि बढ्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले आर्थिक, राजनीतिक र सामाजिक समस्या समाधान गर्न सबै एक ठाउँमा उभिनुपर्ने बताए। 'हामीसँग यो अन्तिम अवसर हो,' उनले भने।
अहिलेको निर्वाचनमा जनताले मिलिजुलीकै सरकार बनाउन जनमत दिएको बताउँदै नेता भण्डारीले जनता आक्रोशित र निराश हुँदाहुँदै आशावादी पनि रहेको बताएका हुन्। यस्ताे अवस्थामा उनले संसद्लाई चुनौती र अवसर दुवै भएको बताए।
'जनता आक्रोशित छन् निराश छन् तर रवि लामिछानेले भनेजस्तै आशा पनि राखेका छन्। आम जनताले आफ्ना आवाजहरूको प्रतिध्वनि सुन्न सके भने आशा जागेर आउनेछ,' उनले भने, 'यो संसद्का लागि अवसर र चुनौती हो। चुनौती यो अर्थमा कि त्यो अपेक्षा पूरा गर्नुपर्ने छ। अवसर यो अर्थमा कि त्यो अपेक्षा पूरा गर्न जनमत प्राप्त भएको छ।'
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले राष्ट्रियताका विषयमा सबै दल गम्भीर हुनुपर्ने बताए। उनले जनअपेक्षाअनुसार काम गर्न आग्रह गर्दै पूर्वाधार विकासका क्रममा विस्थापित जनताको पुनःस्थापनामा सरकारको ध्यान जानुपर्ने बताए।
सुवालले संसदलाई रबर स्टाम्प नभई प्राज्ञिक थलो बनाउनुपर्नेमा जाेड दिए। हचुवाको भरमा संसदमा प्रस्ताव नल्याउन उनले आग्रह गरे।
जनताको समस्या समाधान र उनीहरूको आवाज बुलन्द गर्न संसद प्रयोग गर्नुपर्ने भन्दै उनले यसअघि संसद्मा प्रतिपक्ष दल प्रतिपक्षजस्तो नभएको आरोप पनि लगाए।
उनले नागरिकता विधेयकले देशलाई सिक्किमीकरण गर्ने बताए। उनले नागरिकता विधेयक खारेजीको माग पनि गरे। निर्वाचन आचारसंहिता उल्लंघन गरेर चुनाव जित्नेहरूमाथि छानबिन गर्न समिति गठन गर्न पनि उनले माग गरे। उनले ख्वप विश्वविद्यालयको विधेयक पारित गर्न सबैलाई अनुरोध गरे।











