प्रदेशको औचित्य सावित गर्ने अधिकतम कोशिस गर्छौं : मुख्यमन्त्री अधिकारी
प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट आज मुख्यमन्त्री नियुक्त भएपछि पत्रकारसँग कुरा गर्दै उहाँले स्थानीय तह र केन्द्रसँग समन्वय, सहकार्य गर्दै अघि बढ्ने बताए।
पाेखरा, पुस २५ : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशको औचित्य स्थापित गर्न अधिकतम कोशिस गर्ने बताएका छन्।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट आज मुख्यमन्त्री नियुक्त भएपछि पत्रकारसँग कुरा गर्दै उहाँले स्थानीय तह र केन्द्रसँग समन्वय, सहकार्य गर्दै अघि बढ्ने बताए।
'समृद्ध गण्डकी, समुन्नत गण्डकी र सुखी गण्डकीका जनता बनाउने कोशिसमा रहनेछौँ', उनले भने। यो जिम्मेवारी असाधारण रहेको र परिस्थितिलाई सामान्य बनाउने भन्दै उहाँले राजनीतिक दलबीच सहमति, सहकार्य गर्दै अघि बढ्ने बताए। मुख्यमन्त्री अधिकारीले मन्त्रिमण्डल सानो हुने संकेत गरे।
प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधार २ बमोजिम अधिकारीलाई गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। प्रदेश प्रमुखले गत पुस २१ गते ५ दिनको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान गर्नुभएकामा अधिकारीले ३३ प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए।
साठी सदस्यीय गण्डकी प्रदेशसभामा नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) को उनलाई समर्थन छ। चुनावपछि एकीकृत समाजवादीमा प्रवेश गरे पनि राजीव गुरुङले स्वतन्त्र सांसदकैरुपमा अधिकारीलाई समर्थन गरेका हुन्।
एमाले स्थायी कमिटी सदस्य एवं सङ्गठन विभाग प्रमुखसमेत रहनुभएका अधिकारीले कास्की निर्वाचन क्षेत्र १९१० बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। मुख्यमन्त्री अधिकारीलाई आजै प्रदेश प्रमुख गुरुङले शपथ ग्रहण गराउने कार्यक्रम छ ।











