संसदमा स्वतन्त्र सांसद साह, सिंह र मण्डलले के भने?
स्वतन्त्र सांसद प्रभु साहले राष्ट्रिय समस्या समाधान गर्न राष्ट्रिय एकता आवश्यक अपरिहार्य भएको बताए।
काठमाडौं, पुस २५ : स्वतन्त्र सांसद अमरेशकुमार सिंहले देशमा हुँदा खाने र हुने खाने सबैले काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने आजको आवश्यकता रहेको बताए।
नयाँ प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘देशको अर्थतन्त्र जर्जर अवस्थामा छ, यो बिचौलियाको चपेटामा परेर भएको हो, राजनीतिमा सिद्धान्त, आदर्श र समर्पण चाहिन्छ। जनतालाई शिक्षा र स्वास्थ्य, किसानलाई मल र बिउ चाहिएको छ।’
उनले नेपाल सेटिङ र माफियाहरूको दुष्चक्रमा फसेको जिकिर गरेका छन्। ‘यो देशमा हुने खाने र हुँदा खानेहरू छन्। तर दुवै वर्ग यो देशमा बस्दैनन्,’ ‘हुँदाखाने गरिब जनता मलेसिया र खाडी गएको र हुनेखानेहरू अमेरिका, अस्ट्रेलिया गएका छन्। बिचौलिया र सेटिङ र लुटतन्त्रमा रमाउनेहरू मात्रै नेपालमा बसेका छन्।’
स्वतन्त्र सांसद प्रभु साहले राष्ट्रिय समस्या समाधान गर्न राष्ट्रिय एकता आवश्यक अपरिहार्य भएको बताए। उनले भने, ‘जबसम्म बलियो स्थायी सरकार बन्दैन तबसम्म समस्या समाधान हुँदैन। त्यसैले आग्रह पूर्वाग्रह छोडेर अहिले पनि देशका लागि राष्ट्रिय एकता आवश्यक छ । यो सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन सक्छौँ । एजेन्डामा छलफल गरेर एकताबद्ध हुन सक्छौं।’ उनले मुलुकको वर्तमान समस्यालाई समाधान गर्न सबै राजनीतिक दल एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।
अर्का स्वतन्त्र सांसद योगेन्द्र मण्डलले जनजीविकासँग जोडिएको कृषिलाई आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्न लाग्नुपर्नेमा जोड दिए। उनले शिक्षा क्षेत्रलाई सुधार गर्न योजनाबद्ध कार्यक्रम आवश्यक रहेको भन्दै सरकारी विद्यालयको स्तर उकास्नुपर्ने बताए। बेरोजगारीको समस्या समाधान गर्दै मुलुकको आर्थिक क्षेत्रलाई टेवा पुर्याउन कृषि, शिक्षा र पर्यटनलाई प्राथमिकतामा काम गर्नुपर्ने उहाँले खाँचो औंल्याए।











