Kathmandu Press

संघीयताले देशको विकासभन्दा पनि नेता, मन्त्री, सांसदको विकास गरेकाे छ : केसी

नयाँ प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले दलका नेताहरुको ध्यान देश बनाउनेभन्दा सत्ता, मन्त्रीतर्फ केन्द्रित रहेको बताए।
संघीयताले देशको विकासभन्दा पनि नेता, मन्त्री, सांसदको विकास गरेकाे छ : केसी

काठमाडौं, पुस २५ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले देशको विकासभन्दा पनि नेता, मन्त्री, सांसदको विकास गरेको बताएका छन्। 

नयाँ प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले दलका नेताहरुको ध्यान देश बनाउनेभन्दा सत्ता, मन्त्रीतर्फ केन्द्रित रहेको बताए।

केसीले राजनीतिक दल र तीनका नेतामा सिद्धान्त, नीति, नैतिकताले काम नगरी जसरी पनि सत्तामा पुग्ने खेलमा राजनीतिक दलका नेताप्रति जनताको आस्था कमजोर देखिएको बताए।

उनले भने, 'राष्ट्रियता र स्वाधीनताको रक्षा गर्नेतर्फ हामी सबै जुट्नपर्छ, सत्ता केन्द्रित राजनीतिले देश विकासमा पछि परेको हो। देशमा भएका सांसद र मन्त्रीको सङ्ख्या बढी भएकाले अर्थतन्त्रले कसरी धान्छ?'

उनले संघीयताले देशमा विकृति बढेको उल्लेख गरे। उनले संघीयता मन्त्री र सांसद उत्पादन गर्ने कारखाना साबित भएको बताए। उनले देशको विकासका लागि सबै इमानदार बन्नुपर्नेमा जोड दिए।

जनताको अपेक्षा पूरा गर्न गणतान्त्रिक व्यवस्था मुलुकमा ल्याइए पनि जनताले न्याय नपाएको उनको भनाइ थियो। मुलुकमा संघीयता, लोकतान्त्रिक गणतान्त्रात्मक व्यवस्था आउँदा समेत दैनिक हजारौं युवा विदेश जानुपर्ने अवस्था रहनु दुःखद भएको उनले बताए। 

देश र जनताको भविष्यप्रति दलका नेताहरु गम्भीर नहुँदासम्म मुलुकमा वास्तविक परिवर्तन सम्भव नहुने उनले बताए। मुलुकमा तिथि बसाल्न सके मात्र समस्या समाधान हुने उनको भनाइ थियो।


 

प्रकाशित मिति: १६:०६ बजे, सोमबार, पुस २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्