Kathmandu Press

संघीयता र गणतन्त्रको रक्षाका लागि प्रतिबद्ध छौं : सिके राउत 

प्रधानमन्त्रीलाई जवाफ दिँदै डा. राउतले उक्त आवेग जनताभित्र रहेको परिवर्तनको आकांक्षामात्रै रहेको बताए ।
संघीयता र गणतन्त्रको रक्षाका लागि प्रतिबद्ध छौं : सिके राउत 

काठमाडौं, पुस २५ : जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले आफू र आफ्नो पार्टी संघीयता र गणतन्त्रप्रति प्रतिबद्ध रहेको बताएका छन् । 

सोमबार प्रतिनिधि सभाको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै डा. राउतले विश्वकै उत्कृष्ट व्यवस्थाहरुमा गनिने संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनमत पार्टी प्रतिबद्ध रहेको बताएका हुन् । 

उनले मुलुकमा सो व्यवस्था स्थापना गर्न भूमिका खेल्ने सम्पूर्ण अग्रजहरुप्रति अनुग्रहित रहेको पनि बताए । मुलुकका लागि अपरिहार्य रहेको संघीयतालाई सबल पार्न सरकारले प्रभावकारी कदम लिने कुरामा विश्वस्त रहेको पनि उनले बताए। 

संघीय लोकतान्त्रिक गणतन्त्रकै कारण आज जनताको छोराछोरी देशकै सर्वोच्च पदमा आसिन हुन सम्भव भएकाले यो व्यवस्थाप्रति उच्च सम्मान रहेको डा. राउतले बताए । ‘ जुन दरबारमा हामी टिकट पाएर पनि भित्र छिर्न सक्दैन थियौं हेर्न सक्दैथ्यौं त्यहाँ आज जनताको छोराछोरी देशकै सर्वोच्च पदमा आसिन भएका छन् । त्यो गणतान्त्रिक व्यवस्थाको देन हो,’ उनले भने । 

सम्बोधनकै क्रममा डा. राउतले आफूहरुभित्र आवेगमात्रै नभई अग्रजहरुप्रति सम्मान समेत रहेको बताए । प्रधानमन्त्री प्रचण्डले सम्बोधनका क्रममा नयाँ सांसदहरुमा आवेग र हुटहुटी रहेको बताएका थिए । सोही विषयमा प्रधानमन्त्रीलाई जवाफ दिँदै डा. राउतले उक्त आवेग जनताभित्र रहेको परिवर्तनको आकांक्षामात्रै रहेको बताए । ‘त्यसलाई हामी उर्जाको रुपमा परिवर्तन गर्न सकौं । सकारात्मक परिवर्तन ल्याउन सकौं भन्ने आशा र विश्वासको साथमा आएको छु,’ उनले भने ।   

प्रकाशित मिति: १५:४० बजे, सोमबार, पुस २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्