अमेरिकी राष्ट्रपति ट्रम्प र पुटिनबीच फोन वार्ता
वासिङ्टन, पुस १५ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ।
उनीहरूबीच दुई पक्षीय सम्बन्ध, ....

वासिङ्टन, पुस १५ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ।
उनीहरूबीच दुई पक्षीय सम्बन्ध, साझा चासोका विषयसँगै क्षेत्रीय र अन्तर्राष्ट्रिय विभिन्न विषयमा कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले सोमबार जनाएको छ।
‘राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन गर्नुभएको थियो, रुसमा भएको आक्रमणमा सहयोग पुग्नेगरी सूचना उपलब्ध गराएकोमा पुटिनले ट्रम्पलाई धन्यवाद दिनुभएको थियो,’ ह्वाईट हाउसद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।
दुवै पक्षका प्रतिबद्धतालाई निरन्तरता दिदै दुवै पक्षीय सम्बन्धबारे छलफल भएको ह्वाईट हाउसले जनाएको छ।
रुसी संघीय सुरक्षा सेवाले सोमबार दिएको जानकारी अनुसार नयाँ वर्षको विदाको बेलामा दुई वटा आक्रमण गर्न खोजिएको थियो। रुसको दोस्रो ठूलो सहर सेन्ट पिटर्सबर्गमा गर्न खोजिएको आक्रमण अमेरिकाले दिएको सूचनाका आधारमा विफल पारिएको थियो।
पुटिनले ट्रम्पलाई क्रिसमस र नयाँ वर्षको उपलक्ष्यमा शुभकामना पनि दिएको समाचार जनाएको छ।












