Kathmandu Press

आहा ! रारा पोखरा गोल्डकप : भुटनिज युथ स्पोर्ट्स फाइनलमा

आहा ! रारा पोखरा गोल्डकप : भुटनिज युथ स्पोर्ट्स फाइनलमा

कास्की, पुस २१ : अमेरिकाको भुटनिज युथ स्पोर्ट्स क्लब (बिवाइएससी) मिनेसोटा पोखरामा जारी ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लब काठमाडौँलाई १–० गोलले हराउँदै बिवाइएससीले फाइनलमा सङ्कटा क्लबसँगको भेट पक्का गरेको हो । सङ्कटा क्लब बुधबार सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पराजित गर्दै फाइनल पुगिसकेको छ ।

पहिलो हाफको अतिरिक्त समयमा बिवाइएससीका रोजिन प्रजापतिले गरेको एकमात्र गोल टोलीलाई फाइनलमा पुर्‍याउन पर्याप्त रह्यो । प्रवीन बस्नेतको क्रस पासलाई सदुपयोग गरी रोजिनले हेडरमार्फत गोल गरेका हुन।
 
खेलको ८४औँ मिनेटमा आशिष चौधरीले दोहोरो पहेँलो कार्ड (रातो कार्ड) खाँदै मैदान छाडेपछि चर्च ब्वाइज दश खेलाडीमा सीमित भएको थियो । खेलको निर्धारित समयमा दुवै टोलीले गोलका केही सुन्दर मौका खेर फालेका थिए । खेलका निर्णायक गोलकर्ता प्रजापति ‘म्यान अफ दी म्याच’ घोषित भए। प्रतियोगिताको फाइनल खेल शनिबार हुने आयोजकले जनाएको छ ।
 
प्रतियोगिताको विजेताले रु १२ लाख र उपविजेताले रु छ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने आयोजक सहाराका महासचिव रामजीप्रसाद अधिकारीले बताए।

यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान इलेक्ट्रिक स्कुटर तथा उत्कृष्ट, डिफेण्ड, गोलकिपर, फरवार्ड, मिडफिल्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्ताले जनही रु २५ हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रकाशित मिति: १९:४८ बजे, बिहीबार, पुस २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्