सभामुखबारे छलफल गर्न प्रचण्ड बालुवाटारमा
काठमाडौं, पुस १५ : प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन्।
उनी के....

काठमाडौं, पुस १५ : प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन्।
उनी केहिबेर अघि बालुवाटार पुगेका हुन्। सभामुखको उम्मेदावर टुङ्गो लगाउनका लागि प्रधानमन्त्री ओलीसँग छलफल गर्न प्रचण्ड बालुवाटार पुगेको नेकपा स्रोतले जनाएको छ।
बलात्कारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ गते राजीनामा दिएका थिए। त्यसयता सभामुख पद रिक्त रहेको छ।
नयाँ सभामुखको चयन गर्ने संसद्को हिउँदे अधिवेशन पुस ४ गते बोलाइएको थियो। पुस ११ गतेको बैठकमा सभामुख चयन प्रक्रिया थाल्ने तयारी थियो। तर, नेकपाले उम्मेदवार टुङ्गो नलगाउँदा सूचना टाँसेर संसद् बैठक स्थगित गरिएको थियो।
संसद्को अर्को बैठक पुस १६ गते बोलाइएको छ। त्यसअघि सभामुख उम्मेदवारको टुङ्गो लगाउन नेकपा अध्यक्ष द्वय ओली र प्रचण्ड आज छलफलमा जुटेका हुन्।
नेकपाबाट तीन जना सभामुखको दाबेदार देखिएका छन्। उपसभामुख डा.शिवमाया तुम्बाहाङफे, पूर्वसभामुख सुवाष नेम्वाङ र अग्नी सापकोटा दाबेदार रहेका छन्।
डा.तुम्बाहाङफेलाई राष्ट्रपति विद्यादेवी भण्डारी, नेम्वाङलाई प्रधानमन्की ओली र सापकोटालाई अध्यक्ष प्रचण्डले सभामुख बनाउन खोजिरहेका छन्। जसले गर्दा सहमति हुन सकेको छैन।











