Kathmandu Press

राष्ट्रपति र उपराष्ट्रपतिले दिए  ‘तमू ल्होसार’को शुभकामना

काठमाडौं, पुस १५ : राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ समुदायको महान् पर्व ‘तमूल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ने....

राष्ट्रपति र उपराष्ट्रपतिले दिए  ‘तमू ल्होसार’को शुभकामना

काठमाडौं, पुस १५ : राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ समुदायको महान् पर्व ‘तमूल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली गुरुङ दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छिन् । तमू ल्होसारका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले मुलुकको सांस्कृतिक सम्पदा संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्नसमेत गुरुङ समुदायले निर्वाह गरेको भूमिकाको सराहना गरिन् । 

गुरुङ संस्कृति बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्रका रुपमा रहेको हाम्रो मुलुकको राष्ट्रिय संस्कृतिको महत्वपूर्ण अङ्गका रुपमा रहेको बताउँदै राष्ट्रपतिले सन्देशमा तमूल्होसारजस्ता राष्ट्रिय पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाउन मद्दत गरेको उल्लेख पनि गरिन् ।  गुरुङ समुदायको यो पर्वले आपसी सद्भाव बढाई आर्थिक र सामाजिकरुपले समृद्ध मुलुक निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास लिएको राष्ट्रपतिको सन्देशमा उल्लेख छ । 

यसै उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तमू दिदी–बहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । 

पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै गुरुङ समुदायले मनाउने तमूल्होसार पनि फराकिलो हुँदै आम नेपालीको पर्वका रुपमा स्थापित हुँदै गएको बताउँदै उपराष्ट्रपतिले सन्देशमा हाम्रा धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन योगदान गरेको उल्लेख गरे ।

उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्दै राष्ट्रको समुन्नति र समृद्धिमा लाग्न तमूल्होसारले सबैलाई प्रेरित गरोस् भन्ने कामना पनि गरेका छन् । (रासस) 

प्रकाशित मिति: ०८:५१ बजे, मंगलबार, पुस १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्