नेपाल टि–२० लिगमा फिक्सिङको हल्ला झुटो भएकाे क्यानकाे दाबी
फिक्सिङको बारेमा जानकारी भए प्रमाणसहित क्यानको केन्द्रीय कार्यालय वा लिगको एन्टी करप्सन युनिटमा उजुरी बुझाउन पनि आग्रह गरेको छ ।
काठमाडौं, पुस २० : नेपाल क्रिकेट संघ(क्यान)ले जारी नेपाल टि–२० लिगमा म्याच फिक्सिङ भएको हल्ला झुटो रहेको दाबी गरेको छ ।
बुधबार क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले विज्ञप्ति जारी गर्दै जारी लिगमा म्याच फिक्सिङ भएको भनी भ्रामक हल्ला फैलाइएकोप्रति क्यानको ध्यानाकर्षण भएको बताउँदै त्यस्ता कुनैपनि म्याच फिक्सिङ र स्पट फिक्सिङ नभएको जानकारी दिएका हुन् ।
क्यानले नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पुर्याउने गरी फैलाइएको यस्तो गतिबिधि अन्त्य गर्न प्रतिबद्ध रहेको पनि बताएको छ । साथै म्याच फिक्सिङको बारेमा जानकारी भए प्रमाणसहित क्यानको केन्द्रीय कार्यालय वा लिगको एन्टी करप्सन युनिटमा उजुरी बुझाउन पनि आग्रह गरेको छ ।
लिगका कमेन्टेटर सचिन तिमिल्सिनाले खेलमा स्पट फिक्सिङ भएको आरोप लगाउँदै आफ्नो जिम्मेवारी छाडेका थिए । त्यस्तै केही खेलाडीहरुले आफूलाई म्याच फिक्सिङको प्रस्ताव आएको समेत बताएका थिए ।
मंगलबार मात्रै नेपाल टि-२० लिग क्लब काठमाडाैं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले पाेष्ट म्याच कन्फ्रेन्समा टिमका एक खेलाडीलाई फिक्सिङकाे प्रस्ताव आएकाे बताएका थिए। उनले यस विषयमा सम्बन्धित पक्षलाई जानकारी गराएकाे समेत बताएका थिए।
लिगको स्ट्राटेजिक साझेदारका रुपमा सञ्चानल अधिकार पाएको विवादित पृष्ठभूमिका सेभेन थ्री स्पोर्ट्स, श्रम स्वीकृतिविनाका विदेशी खेलाडी लगायत विभिन्न कारण खेलमा स्पट फिक्सिङ भएको हुनसक्ने आशंका गरिएको छ ।
विभिन्न विवाद उत्पन्न भएपछि मंगलबार गृहमन्त्री रवि लामिछानेले लिगको विवादबारे अनुसन्धान गर्न निर्देशनसमेत दिइसकेका छन् ।












