सिंगापुर, टोकियो र क्वालालम्पुरमा किन धेरै काम गर्ने चलन छ?
सिंगापुरका समिर उस्मान प्राय: साढे नौ घण्टा काम गर्छन्। मिटिङ र फोनमा यति व्यस्त हुन्छन् कि कहिलाकाहिँ खाने समय पनि पाउँदैनन्।
तर यी ३९ वर्षीय जनसम्पर्क व्यव....

सिंगापुरका समिर उस्मान प्राय: साढे नौ घण्टा काम गर्छन्। मिटिङ र फोनमा यति व्यस्त हुन्छन् कि कहिलाकाहिँ खाने समय पनि पाउँदैनन्।
तर यी ३९ वर्षीय जनसम्पर्क व्यवस्थापकको व्यस्तता सिंगापुरमा असामान्य मानिँदैन। यहाँको सातामा काम गर्ने औसत समय करिब ४५ घण्टा छ। किसी नामक संस्थाले ४० वटा शहरमा गरेको अध्ययन अनुसार एसिया प्रशान्त क्षेत्रमा यो सबैभन्दा लामो हो।
प्रतिवेदनमा काम गर्ने व्यक्तिको यात्राको दुरी, कार्यस्थलमा आइपुग्ने समय, प्रति साता काम गरेको समय घण्टाको आधारमा र विदा लिएका दिनहरू पनि समावेश गरिएकव थियो। त्यसैको आधारमा विश्वमा धेरै काम गर्ने शहरहरू निर्धारण गरिएको थिय जसमा शीर्ष पाँच शहरमध्ये तीन एसियामा छन्।
जापानको टोकियो शीर्ष स्थानमा छ। त्यसपछि सिंगापुर, अमेरिकाको वाशिङ्टन, मलेसियाको क्वालालम्पुर र अमेरिकाकै ह्युस्टन सबैभन्दा धेरै काम गर्ने समय भएको शहरमा परेका छन्। जापानीहरू औसत ४६ घण्टा काम गर्ने गरेको प्रतिवदेनमा उल्लेख गरिएको छ।
अर्कोतिर सन्तुलित काम र जीवन भएका शहरहरू सबै उत्तरी युरोपमा छन्। त्यसमा फिन्ल्यान्डको हेल्सिङ्की पहिलो नम्बरमा छ। त्यसपछि जर्मनीको म्युनिख, नर्वेको ओस्लो, जर्मनीकै ह्याम्बर्ग र स्वीडेनको स्टकहोल्म परेका छन्। म्युनिख र ओस्लोमा सातामा औसत ३९ घण्टाभन्दा थोरै समय काम गर्छन् जुन सबैभन्दा कम हो।
अक्टोबरमा योग्यकर्तासम्म एक साताको यात्रा गरेदेखि उस्मान विदा बसेकै छैनन्। म्युनिखमा औसत कामदारले वर्षमा ३० दिन विदा पाउँछन्। तर यो उस्मानका लागि धेरै हुन्छ।
सिंगापुरमा औसत १४ दिन विदा पाइन्छ। तर यो पनि टोकियोका औसत कामदारका लागि धेरै हो। त्यहाँ वर्षमा दश दिन विदा दिइन्छ। त्यसो भए एसियाका शहर किन यति धेरै काम गर्छन्? सिंगापुर ह्युमन रिसोर्सेस इन्स्टिट्युटका पूर्व अध्यक्ष इरमान तानले यसलाई काम गर्ने सँस्कृति र व्यवहार बताएका छन्।
“सिंगापुरमा मेहनतीलाई सम्मान गरिन्छ र यहाँको वातावरण प्रतिस्पर्धी छ। त्यसैले प्रतिस्पर्धाका लागि पनि मानिसहरूले मेहनत गर्नुपर्छ,” उनले भने।
मेहनतका साथ काम गर्ने सँस्कृतिलाई बेट्टी हो पनि स्वीकार्छिन्। उनी सिंगापुरस्थित एउटा जापानी कम्पनीकी पूर्व कर्मचारी हुन्।
“तपाईंले ढिला गर्नुहुँदैन। धेरै बैठक हुन्छन्। तपाईंको डेस्क सफा र व्यवस्थित हुनुपर्छ। हाकिम सधैं ठिक हुन्छन् र हाकिमभन्दा पहिले कार्यालयबाट निस्कनु हुँदैन,” ४१ वर्षीया होले भनिन्।
वर्षको सुरूमा केही चिनियाँ प्रविधि कम्पनीहरूले कामदारलाई अत्यधिक समय खटाउने गरेको समाचार आयो। ग्लोबल कोड शेयरिङ प्लेटफर्म गिटहबले ९९६ प्रणालीका कारण निकै आलोचना खेप्नुपरेको थियो। ९९६ प्रणाली भनेको बिहान नौ बजेदेखि बेलुका ९ बजेसम्म साताको ६ दिन काम गर्नुपर्ने प्रणाली बुझिन्छ। यसले चीनको उत्पादकत्व र काम तथा जीवनको सन्तुलनबारे बहस पनि भएको थियो।
अलिबाबाका संस्थापक ज्याक माले ९९६ तालिकालाई धेरै कम्पनी र कर्मचारीसँग नभएको ठूलो आशिर्वाद बताए।
“युवा उमेरमा ९९६ नगरे, कहिले गर्ने? जीवनमा कहिले ९९६ काम नगर्नु गर्वको विषय हो जस्तो लाग्छ?” कम्पनीको आधिकारिक विच्याटमा प्रकाशित एउटा लेखमा ज्याकले यस्तो बताएको उल्लेख छ।
तर लामो समय काम गर्नाले उत्पादकत्व बढ्छ भन्ने प्रष्ट छैन। अर्गनाइजेसन फर इकोनोमिक को अपरेसन एन्ड डिभेलोप्मेन्टको तथ्याङ्कले सन् २०१७ मा औसत जापानी कामदारले देशको कुल ग्राहस्थ उत्पादनमा प्रति घण्टा काम गरेर ४६.१० अमेरिकी डलर योगदान पुर्याएको देखाउँछ। फिनल्यान्डका कामदारले भने प्रति घण्टा ६४.६० अमेरिकी डलर कमाउँथे। यसको अर्थ वर्षमा १२५ घण्टा बढी काम गरे पनि जापानका प्रत्येक कामदारले समग्र राष्ट्रिय अर्थतन्त्रमा फिन्ल्यान्डका समकक्षीभन्दा थोरै योगदान पुर्याए।
अमेरिकी कम्पनी माइक्रोसफ्टले पनि यस्तै निष्कर्ष निकाल्यो। परीक्षणका लागि माइक्रोसफ्टले जापानको कार्यालयमा सातामा चार दिन मात्रै काम गरायो भने अगष्ट महिनाका लागि २३ सय कर्मचारीलाई शुक्रबार पनि विदा दियो। उनीहरूको पारिश्रमिक पनि नघटाइ जतिको त्यति नै राखियो।
सातामा थोरै समय काम गर्नाले कर्मचारी खुशी हुने र उत्पादकत्व झण्डै ४० प्रतिशतले बढ्ने माइक्रोसफ्टले जनायो। कर्मचारी अनुपस्थित हुने दर र बिजुलीको प्रयोगमा झण्डै एक चौथाइले घट्यो।
जनसम्पर्क विशेषज्ञ तान एसिया पोलिरिथेन म्यानुफ्याक्चरिङ नामक रासायनिक इन्जिनियरङ कम्पनी पनि चलाउँछन्। आधुनिक प्रविधिका कारण जहाँबाट पनि काम गर्न सकिने तानले बताए। “घरमा होट्ठ वा ट्रेनमा। स्मार्टफोनबाट इमेल, च्याट र व्हाट्सएप वा विच्याट गर्न सकिन्छ। फोनबाटै सबै काम गर्न सकिन्छ। २४ घण्टा काम गरेर पनि काम र जीवनको सन्तुलन कायम गर्न सकिन्छ।”
तर त्यसरी २४ घण्टे “कनेक्टिभिटी” उस्मान लगायत केहीका लागि झन्झट बन्नसक्छ। उनी दिनभरि काम गरेपछि घरमा आनन्दले बस्न रूचाउँछन्। जुनसुकै समयमा पनि सम्पर्क गर्न सक्नुका केही फाइदा पनि छन्। काम गर्दा पनि व्यक्तिगत कामहरू गर्न सकिने उनले बताए। तर “त्यही फाइदा पनि केही कर्मचारीको अस्तित्वका लागि समस्या बन्नसक्छ,” उस्मानले भने।
“केही संस्थाहरू विदा बसेका कर्मचारीले पनि कामको कुरा गरोस् भन्ने चाहन्छन्। यसले काम र सहकर्मीप्रति नकारात्मक सोंचलाई प्रश्रय दिनसक्छ। जतिबेला पनि तयार रहनुपर्ने भएकाले उनीहरू थकित पनि हुनसक्छन्।”
क्वालालम्पुरको विज्ञापन एजेन्सीका सिनियर ब्रान्ड म्यानेजर २८ वर्षीया इटेन चाउले यो जालोबाट उम्कनलाई आफ्नै नियमहरू बनाएकी छिन्। बिहान ९ बजेअघि र साँझ साढे ७ बजेपछि उनी कामको इमेल र सन्देशको प्रत्युत्तर फर्काउँदिनन्। यसबाहेक सप्ताहन्तमा पनि सम्पर्क रहदिनन्। तर कहिलेकाहिँ “डेडलाइन” पूरा गर्नलाई राति नौ बजेसम्म पनि बस्छिन्। शनिबार र आइतबार पनि काम गर्छिन्।
तर सप्ताहन्तमा काम गरे वापत उनले अरू दिन विदा लिन पाउँछिन्। त्यसैले उनलाई खासै समस्या छैन। कामको स्वरूप नै त्यस्तो भएकाले पनि ठीकै भएको उनले बताइन्। “मेरो विचारमा उद्योगको क्षेत्रका कारण केही फरक परेको होला। यदि मलाई काम र जीवनबीच साँच्चिकै राम्रो सन्तुलन चाहिएको भए, सायद म बैङ्क वा अरू क्षेत्रमै काम गर्थें होला,” उनले भनिन्।



-1771243509.jpg)








