Kathmandu Press

रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत गरिने

काठमाडौं, पुस १४ :  ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत गराउने....

रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत गरिने

काठमाडौं, पुस १४ :  ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत गराउने भएको छ।

सिंहदरबारस्थित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालयमा बसेको बैठकले रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत गराउने निर्णय गरेको हो।

यसअघि श्रीलंका सरकारको आर्थिक सहयोगमा निर्माण व्यवसायीमार्फत रातो मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माण अघि बढाइएको थियो। पूर्वयोजना अनुसार मन्दिर पुनर्निर्माण अघि नबढेपछि ठेक्का तोडिएको हो। 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण प्राधिकरणको विशेष प्राथमिकतामा परेकाले रानीपोखरीको मोडेलअनुसार उपभोक्ता समितिमार्फत पुनर्निर्माण गरिने निर्णय भएको जानकारी दिए। रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माणको अनुगमनका लागि प्राधिकरणको नेतृत्वमा समिति पनि गठन गरिने छ।

सांसद पम्फा भुसालले उपभोक्तामार्फत पुनर्निर्माण गरिने हुँदा रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण पूरा हुने आशा बढेको बताइन्।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले समयतालिका बनाएर रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण गरिनु पर्नेमा जोड दिँदै आवश्यक सहयोग गर्न महानगर तयार रहेको बताए।  बैठकमा गुरुयोजनाबारे थप छलफल गरेर अन्तिम रुप दिने समझदारी पनि बनेको छ।

बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, प्रतिनिधिसभाकी सांसद पम्फा भुसाल, प्रदेश सांसद जीवन खडका, ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन, पुरातत्व विभागका प्रतिनिधि, वडाध्यक्ष लगायत सहभागी थिए।

प्रकाशित मिति: १८:२२ बजे, सोमबार, पुस १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्