Kathmandu Press

फारवेस्टमाथि जनकपुरको जित

सोमबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा जनकपुरले खराब ब्याटिङ गरेको फार वेस्ट युनाइटेडमाथि ८२ रनको फराकिलो जित निकाल्यो।
फारवेस्टमाथि जनकपुरको जित

काठमाडौं, पुस १८ : नेपाल टी-२० लिगमा जनकपुर रोयल्स विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा जनकपुरले खराब ब्याटिङ गरेको फार वेस्ट युनाइटेडमाथि ८२ रनको फराकिलो जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै जनकपुरले दिएको १६२ रनको लक्ष्य पछ्याएको फार वेस्ट ७९ रनमै अलाआउट भयो । उसका लागि हस्मतुल्लाह साहिदीले सर्वाधिक ३२ रन बनाए भने रसिद खानले १७ र भीम सार्कीले १६ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। 

फार वेस्टलाई सस्तैमा समेट्ने क्रममा सामिउल्लाह सेन्वारीले ३ तथा पवन सर्राफ र सोमपाल कामीले समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको जनकपुरले सन्दीप जोराको उत्कृष्ट ब्याटिङ मद्दतमा निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनायो । अक्रामक ब्याटिङ गरेका जोराले ३२ बलमा ५ छक्का र १ चौका प्रहार गरे। 

यस्तै, कप्तान ट्रेभोन ग्रिफिथले ३२, चाडविक वाल्टनले २४ र सफरुद्दिन अश्रफले २० रनको योगदान दिए। फारवेस्टका प्रकाश जैसीले ३ तथा भुवन कार्कीले २ विकेट लिए।

यो जितसँगै जनकपुर पनि प्लेअफ नजिक पुगेको छ। ऊ ७ खेलमा १० अंकसहित दोस्रो स्थानमा छ। यस्तै, फारवेस्ट भने २ अंकसहित पुछारमा छ।

प्रकाशित मिति: १६:२९ बजे, सोमबार, पुस १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्