नेपाल भ्रमण वर्षको तयारी पूरा, उद्घाटनमा चार देशका पर्यटनमन्त्री आउने
काठमाडौं, पुस १४ : सरकारले नेपाल भ्रमण वर्ष २०२० को तयारी पूरा भएको जनाएको छ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संस्कृति, पर्यटन तथ....

काठमाडौं, पुस १४ : सरकारले नेपाल भ्रमण वर्ष २०२० को तयारी पूरा भएको जनाएको छ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भ्रमण वर्षको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।
मन्त्री भट्टराईले भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुन चार देशका पर्यटन मन्त्री नेपाल आउने जानकारी दिए। उनका अनुसार उद्घाटन समारोहमा सहभागी हुन छिमेकी देश भारत, चीन, जमैका र म्यानमारका पर्यटनमन्त्री आउने कार्यक्रम छ।
नेपाल भ्रमण वर्ष– २०२० को शुभारम्भ पुस १६ दशरथ रंगशालामा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन्।
पर्यटनमन्त्री भट्टराईका अनुसार सोही समयमा सातौ प्रदेशमा एक साथ भ्रमण वर्षको शुभारम्भ हुनेछ। प्रदेश नम्बर एकको विराटनगर, प्रदेश नम्बर २ को जानकी मन्दिर, प्रदेश नम्बर तीनमा चितवनको सौराहा, गण्डकी प्रदेशमा पोखराको लेकसाइड, प्रदेश नम्बर ५ मा बर्दिया, प्रदेश कर्णाली प्रदेशमा सुर्खेतको बुलबुल ताल र सुदूरपश्चिम प्रदेशमा धनगढीमा एकैसाथ भ्रमण वर्षको उद्घाटन गरिनेछ।
सरकारले भ्रमण वर्ष–२०२० को शुभारम्भका दिन देशभर दीपापली गरेर स्वागत गर्न आह्वान पनि गरेको छ।
पत्रकार सम्मेलनमा भ्रमण वर्ष सचिवालयका राष्ट्रिय संयोजक सुरज बैद्यले डिसेम्बर २५ तारिखदेखि नेपाल आउने विदेशी पर्यटकलाई विमानस्थलमा स्वागत, मुख्य पर्यटकीय स्थलहरु काठमाडौंको ठमेल, चितवनको सौराहा, पोखराको लेकसाइडमा विभिन्न कार्यक्रम आयोजना गरिएको बताए।











