नेपाल टी-२० लिग : विराटनगरमाथि जनकपुरको ४९ रनको जित
पहिला ब्याटिङ गर्दै जनकपुरले दिएको १९० रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १४० रन मात्र बनाउन सक्यो। उसका लागि हसन टलटले २० बलमा ४ चौका र २ छक्का प्रहार गर्दैै सर्वाधिक ४२ रन बनाए।
काठमाडौं, पुस १६ : नेपाल टी-२० लिगमा जनकपुर रोयल्स विजयी भएको छ। शनिबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा जनकपुरले विराटगरन सुपर किंग्समाथि ४९ रनको जित निकाल्यो।
पहिला ब्याटिङ गर्दै जनकपुरले दिएको १९० रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १४० रन मात्र बनाउन सक्यो। उसका लागि हसन टलटले २० बलमा ४ चौका र २ छक्का प्रहार गर्दैै सर्वाधिक ४२ रन बनाए।
यस्तै, प्रदीप ऐरीले २६ बलमा ३६ रन बनाउँदा गौरांसु शर्माले ३३ रन बनाए। विराटनगरलाई सस्तैमा रोक्ने क्रममा सेन्वारीले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए। ललित राजवंशीले २ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १८९ रन बनायो। उसका लागि विस्फोटक ब्याटिङ गरेका सिन्वारीले ४० बलमा समान ६ चौका र छक्का प्रहार गर्दै नटआउट ७८ रन बनाए।
यस्तै, चाडविक वाल्टनले २९, सन्दीप जोराले २० रन बनाउँदा कप्तान ट्रोभोन ग्रिफिथले १९ रन बनाए। विराटनगरका सूर्य तामाङ र हुसैन टलटले समान २ विकेट लिए।
यो जितसँगै जनकपुर ५ खेलमा ८ अंक जोड्दै दोस्रो स्थानमा छ। विराटनगर भने ५ खेलमा ४ अंकसहित चौथो स्थानमा छ। १० अंक जोडेको लुम्बिनी अल स्टार शीर्ष स्थानमा छ।
प्रतियोगिता अन्तर्गत आइतबार जनकपुर रोयल्स र काठमाडौं नाइट्स तथा लुम्बिनी अल स्टार र विराटनगर सुपर किंग्स भिड्ने छन्।











