नेपाल टि–२० लिगमा पोखराकाे पहिलो जित
५ खेलपछि पहिलो जित निकाल्ने क्रममा पोखराले शुक्रबार फार वेस्ट युनाइटेडलाई ३ विकेटले हरायो।
काठमाडाैं, पुस १५ : नेपाल टि–२० लिगमा पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ। ५ खेलपछि पहिलो जित निकाल्ने क्रममा पोखराले शुक्रबार फार वेस्ट युनाइटेडलाई ३ विकेटले हरायो।
पहिला ब्याटिङ गर्दैै फार वेस्टले दिएको १८८ रनको लक्ष्य पोखराले १९.१ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो । जारी प्रतियोगितामा सर्वाधिक रन चेज भएको खेल हो ।
पोखरालाई प्रतियोगितामा पहिलो जित दिलाउने क्रममा कुशल मल्ल र आसिफ सेखले उत्कृष्ट ब्याटिङ गरे। आसिफले ३३ बलमा समान २ चौका र छक्का प्रहार गर्दै सर्वाधिक ४३ रन बनाए भने कुशलले २२ बलमा ५ छक्का प्रहार गर्दै ४० रन बनाए।
यस्तै, सुमित महर्जनले २२ बलमा ३८ रन बनाउँदा सिद्धान्त लोहनीले १० बलमा महत्वपूर्ण २३ रन बनाए। फार वेस्टका करण केसी, उमाइर अली र प्रकाश जैसीले समान २ विकेट लिए ।
त्यसअघि पहिला ब्याटिङ गरेको फार वेस्टले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १८७ रन बनायो। उसका लागि उमाइर अलीले २६ बलमा ५ छक्का प्रहार गर्दै सर्वाधिक ४२ रन बनाए।
यस्तै, देव खनालले ३३ रन बनाउँदा अन्त्यतिर रसिद खानले १५ बलमा ३२ रन बनाए। पोखराका जाहिर खानले ३ तथा अमीर हाम्जाले २ विकेट लिए।
यो जितसँगै पोखरा फार वेस्टलाई रनरेटमा पछि पार्दै पाँचौं स्थानमा उक्लिएको छ। दुवै समान २ अंक जोडेका छन्। लिगमा अपराजित लुम्बिनी अल स्टार १० अंकसहित शीर्ष स्थानमा छ।
प्रतियोगिता अन्तर्गत शनिबार दुई खेल हुने छन्। पहिलो खेलमा लुम्बिनी अल स्टार र पोखरा एभेन्जर्स भिड्ने छन् भने दोस्रो खेलमा विराटनगर सुपर किंग्स र जनकपुर रोयल्स भिड्ने छन्।











