Kathmandu Press

नेपाल टि–२० लिग : सन्दीप र वाल्टनको कीर्तिमानी साझेदारीमा जनकपुरको जित

बिहीबार कीर्तिपुरस्थि टियू मैदानमा भएको खेलमा सन्दीप र वाल्टनको उत्कृष्ट ब्याटिङ मद्दतमा जनकपुर रोयल्सले फार वेस्ट युनाइटेडमाथि ८ विकेटको जित निकाल्यो।
नेपाल टि–२० लिग : सन्दीप र वाल्टनको कीर्तिमानी साझेदारीमा जनकपुरको जित

काठमाडाैं, पुस १४ : काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टि–२० लिगमा जनकपुर रोयल्स विजयी भएको छ। बिहीबार कीर्तिपुरस्थि टियू मैदानमा भएको खेलमा सन्दीप र वाल्टनको उत्कृष्ट ब्याटिङ मद्दतमा जनकपुर रोयल्सले फार वेस्ट युनाइटेडमाथि ८ विकेटको जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै फार वेस्टले दिएको १७९ रनको लक्ष्य जनकपुरले १८.२ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो । उसका लागि सन्दीप र वाल्टनले तेस्रो विकेटका लागि १५१ रनको  साझेदारी गरे । यो जारी प्रतियोगिताको कुनै पनि विकेटका लागि भएको सर्वाधिक ठूलो साझेदारी हो।

प्लेयर अफ दी म्याच बनेका सन्दीपले ५४ बलमा ३ चौका र ५ छक्क प्रहार गदैृ ७७ रन बनाए भने वाल्ट्नले ४० बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ६९ रन बनाए।

यस्तै, ओपनर पवन सर्राफले १२ रन बनाए। फार वेस्टका लागि दुवै विकेट करण केसीले लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको फार वेस्टले करण केसीले अन्त्यतिर विस्फोटक इनिङ खेलेपछि ६ विकेटको क्षतिमा १६९ रन बनायो। करणले १७ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ४७ रन बनाए।

यस्तै, भीम सार्कीले ३० बलमा ३६ रन बनाउँदा देव खनालले २२, कप्तान हस्मतुल्लाह शाहिदीले १९ रनको योगदान दिए। जनपुरका ललित राजवंशीले २ तथा जितेन्द्र मुखिया र सोमपाल कामीले समान १ विकेट लिए।

यो जितसँगै जनकपुर तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। उसले ४ खेलमा ३ जितसहित ६ अंक जोडेको छ। शतप्रतिशत जित निकालेको लुम्बिनी अल स्टार ८ अंकसहित शीर्ष स्थानमा रहँदा ३ खेलमा ४ अंक जोडेको काठमाडौं नाइट्स तेस्रो र ४ खेलमा ४ अंक नै जोडेको विराटनगर सुपर किंग्स चौथो स्थानमा छ। ४ खेलमा १ जित मात्र निकालेको फार वेस्ट पाँचौं र जितबिहीन बनेको पोखरा एभेन्जर्स पुछारमा छ।

प्रतियोगिता अन्तर्गत शुक्रबार काठमाडौं र लुम्बिनी तथा फार वेस्ट र पोखरा भिड्ने छन्।

प्रकाशित मिति: १७:१९ बजे, बिहीबार, पुस १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्