Kathmandu Press

निजगढका लागि बस्ती व्यवस्थापन गर्न तीन ठाउँ चयन

वीरगञ्ज, फागुन १ :  बाराको निजगढमा निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको बाधकका रुपमा रहेको टाङ्गियाबस्तीलाई अन्यत्र सारिने भएको ....

निजगढका लागि बस्ती व्यवस्थापन गर्न तीन ठाउँ चयन

वीरगञ्ज, फागुन १ :  बाराको निजगढमा निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको बाधकका रुपमा रहेको टाङ्गियाबस्तीलाई अन्यत्र सारिने भएको छ । यसका लागि पिलुवा, हरैया र तामागढी गरी तीन ठाउँ चयन गरिएको छ ।

विमानस्थल आयोजना कार्यालय सिमराका अनुसार विमानस्थल निर्माणको काम अगाडि बढाउन सो बस्ती चुनौतीको रुपमा रहेकाले यसलाई अन्यत्र सार्नका लागि बारा जिल्लाकै पिलुवा, हरैया र कोल्हवी नगरपालिकाको उत्तरपट्टि रहेको तामागढी क्षेत्रमध्ये एक ठाउँमा सारिने गरी ठाउँ हेरिएको छ ।

Hardik ivf

विमानस्थलको धावनमार्गको बीचमै सो टाङ्गियाबस्ती परेकाले यसलाई अन्यत्र सार्न चार अर्ब लाग्ने अनुमान गरिएको छ । विमानस्थल निर्माण आयोजनाका प्रमुख इञ्जिनीयर ओम शर्माले भने, “मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि नबढ्नुको मुख्य कारण टाङ्गियाबस्ती नै हो ।”

सङ्घीय सरकारको प्राथमिकतामा रहेको सो विमानस्थलको निर्माण काम अगाडि बढाउन बस्ती अन्यत्र लग्नुपर्ने आवश्यकता रहेको छ । वि.सं. २०३०–०३१ सालतिर तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको कार्यकालमा फिनल्यान्ड सरकारको सहयोगमा अहिलेको टाङ्गियावस्ती भएको सो ठाउँमा पुरानो रुख कटानगरी पुनःवृक्षारोपण गर्ने भनेर पश्चिमी पहाडबाट करीब एकसय ५० घरधुरीलाई ल्याएका थिए । पछि २०४६ सालको राजनीतिक परिवर्तन र माओवादी जनयुद्धताका जङ्गल फँडानी गरी बसेको बस्ती हो टाङ्गियाबस्ती ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ मा पर्ने यो बस्तीमा हाल एक हजार चार सय ७६ घरधुरीका करीब १० हजार मानिस बस्दै आएका छन् । टाङ्गियाबस्ती सरोकार समितिका अध्यक्ष रमेश सापकोटाले भने, “बस्तीलाई अन्यत्र व्यवस्थापन गरिँदा मुआब्जा स्वरुप लालपूर्जासहितको जग्गा उपलब्ध गराएमात्र बस्ती अन्यत्र लग्न सकिन्छ ।”

जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थित सो बस्तीका बासिन्दा विगत ४२ वर्षदेखि सुकुम्वासीनै रहेकाले बस्ती अन्यत्र सार्दा प्रतिपरिवार दुई बिघा पाँच कट्ठाका दरले जग्गा उपलब्ध गराउनुपर्ने, आयोजनास्थल बाहिर तीन किलोमिटर क्षेत्रभित्र मुआब्जाको जग्गा उपलब्ध गराउनुपर्ने, एकघर एक रोजगारीको ग्यारेन्टी दिनुपर्ने, बस्ती व्यवस्थापन गर्दा १८ महीनासम्म रासनपानीको व्यवस्था गर्नुपर्ने तथा अन्यत्र सारिएको ठाउँमा खानेपानी, बिजुली, सडक, विद्यालय, स्वास्थ्यचौकीलगायतका पूर्वाधार हुनुपर्ने माग राख्दै टाङ्गियाबस्ती सरोकार समितिले सङ्घर्ष गर्दै आइरहेको छ ।

जङ्गल फँडानी गरी सात सय ३१ बिघा १४ कट्ठा ऐलानी जग्गामा बसेका टाङ्गियाबस्ती–पूर्व पश्चिमी राजमार्गको पथलैया निजगढ सडकखण्डअन्तर्गत १६ किलोमिटर भन्ने ठाउँबाट दक्षिणतर्फ रहेको छ ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्नेमा जोड दिँदै जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डा.कृष्ण पौडेलले भने, “टाङ्गियाबस्ती सार्नलाई नजिकै पसहा, हरैया र तामागढीजस्ता ठाउँ देखिएकाले यसबारेमा थप अध्ययन भइरहेको छ ।”

प्रकाशित मिति: १३:२५ बजे, बुधबार, फागुन १, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्