खेलाडीको श्रम स्वीकृति नआउँदा अन्योलमा नेपाल टि–२० लिग
प्रतियोगिता सुरु हुनु एक दिनअघि मात्रै अन्योल उत्पन्न भएको छ। प्रतियोगिता खेल्न आएका विदेशी खेलाडीको श्रम स्वीकृतिमा ढिलाइ भएपछि प्रतियोगिता अन्योलमा परेको हो।
काठमाडाैं, पुस ७ : नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टि–२० लिग फेरि अन्योलमा परेको छ। पटकपटक मिति सर्दै आएको टि–२० लिग शुक्रबारबाट कीर्तिपुरस्थित टियू मैदानमा हुने तालिका थियो।
तर, प्रतियोगिता सुरु हुनु एक दिनअघि मात्रै अन्योल उत्पन्न भएको छ। प्रतियोगिता खेल्न आएका विदेशी खेलाडीको श्रम स्वीकृतिमा ढिलाइ भएपछि प्रतियोगिता अन्योलमा परेको हो।
क्यान स्रोतका अनुसार नेपाल टी-२० लिगका लागि नेपाल आएका ३० खेलाडीको श्रम स्वीकृति अझै आएको छ। प्रतियोगिता आयोजनाको जिम्मा पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको ढिलासुस्तीका कारण यो पटक पनि लिग सर्ने निश्चित भएको हो।
क्यान अध्यक्ष चतुरबहादुर चन्दले नेपाल टी-२० लिग भोलि (शुक्रबार) बाट नहुने नश्चित भएको बताए। उनले खेलाडीको श्रम स्वीकृति प्रक्रिया ढिला भएको र तयारी पनि सुस्त भएकाले प्रतियोगिता एक–दुइृ दिनप पछि सर्ने बताए ।
क्यानले लिगमा सहभागी हुने ३० जना विदेशी खेलाडीको नाम पनि श्रम स्वीकृतिका लागि सिफारिस गरिदिन मंसिर २३ गते राष्ट्रिय खेलकुद परिषदलाई पठाएको थियो। तर परिषदले अझै पनि सिफारिस गरेको छैन। जसका कारण खेलाडीको श्रम स्वीकृती अझै हुन सकेको छैन।











