महासंघको साधारणसभाबाट भावी कार्ययोजना निर्माण गरिने
महासंघद्वारा यही पुस ८ र ९ गते सुर्खेतमा आयोजना हुने साधारणसभाबाट महासंघको आगामी कार्ययोजना बनाइने महासचिव रोशन पुरीले बताए।कर्णाली, पुस ६ : नेपाल पत्रकार महासंघको सुर्खेतमा हुने केन्द्रीय साधारणसभाबाट भावी योजना निर्माण गरिने भएको छ।
महासंघद्वारा यही पुस ८ र ९ गते सुर्खेतमा आयोजना हुने साधारणसभाबाट महासंघको आगामी कार्ययोजना बनाइने महासचिव रोशन पुरीले बताए। उनले भने, 'सुर्खेतमा सम्पन्न हुने साधारणसभाले महासंघको नीतिगत तथा वैधानिक अधिवेशनका रूपमा निर्णय गर्नेछ।'
महासचिवले महासंघको साङ्गठनिक नीतिगत प्रतिवेदन, कोषाध्यक्षले पेस गर्ने आर्थिक प्रतिवेदन र लेखा समिति संयोजकले प्रस्तुत गर्ने प्रतिवेदनमाथि बृहत् छलफल हुने उनले जनाए।
यो साधारणसभामा महासंघका ७७ जिल्ला शाखा, ३९ प्रतिष्ठान शाखा, १२ एशोसिएट शाखा, १० वैदेशिक शाखा र दुई आवासीय शाखा ९नेजा र एन्जा०का पदाधिकारी सदस्य गरी सात सय ५० राष्ट्रिय परिषद् सदस्यको सहभागिता हुने उहाँले बताउनुभयो। उहाँका अनुसार साधारणसभा सम्पन्न गर्न आर्थिक दायित्व महासंघ केन्द्रीय समितिले लिएको छ।
महासंघले अधिवेशन सफल पार्नका लागि तीन तहका सरकारसँग आर्थिक सहयोगका लागि अनुरोध गरेको कोषाध्यक्ष कलेन्द्र सेजुवालले बताए। संघीय सरकारले महासंघको अधिवेशनका लागि वार्षिक बजेट विनियोजन गर्दै आएको छ।
कर्णाली प्रदेश सरकारले अधिवेशनकै लागि रु १५ लाख बजेट व्यवस्थापन गरेको बताउँदै उनले स्थानीय सरकारको समेत दायित्ववोध हुने भएकाले सुर्खेतस्थित स्थानीय तह र संस्थासँग आर्थिक सहयोगका लागि अनुरोध गरिएको जनाए।
राष्ट्रिय परिषद् सदस्यहरूका लागि सुर्खेतका २२ होटल व्यवस्था गरिएको महासंघका केन्द्रीय सदस्य दीपेन्द्र शर्माले जानकारी दिनुभयो। साधारणसभाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने जनाइएको छ।