ह्याशट्याग मिटु लगाउनेलाई मुद्दा
बेइजिङको अदालतमा वाङ क्विका समर्थकहरू भेला भएका छन्। उनीहरू चीनको पहिलो ह्याशट्याग मिटुको सुनुवाइका लागि भेला भएका हुन्। पूर्व हाकिमले यौन दुर्व्यवहार गरेको वाङको आरोप....
बेइजिङको अदालतमा वाङ क्विका समर्थकहरू भेला भएका छन्। उनीहरू चीनको पहिलो ह्याशट्याग मिटुको सुनुवाइका लागि भेला भएका हुन्। पूर्व हाकिमले यौन दुर्व्यवहार गरेको वाङको आरोप छ।
तर वाङविरूद्ध पनि मुद्दा लगाइएको छ। झु फेइ विश्व वन्यजन्तु कोष चीन शाखाका वरिष्ठ अधिकारी हुन्। उनले पूर्व कर्मचारी वाङ विरूद्ध अगष्ट, २०१८ मा मानहानीको मुद्दा लगाएका हुन्। कामको सिलसिलामा भ्रमणमा जाँदा झुले जबरजस्ती चुम्बन गरेको भन्दै पूर्व कर्मचारी वाङले सामाजिक सञ्जालमा लेखेकी थिइन्।
“महिला अधिकार र सरोकारको सुरक्षाका लागि कसैले त्याग नगरे कुनै प्रगति हुने छैन,” वाङले पोहोर भनेकी थिइन्। त्यसपछि, यस्तो बयान दिएर मानहानीको थप जोखिम उठाउनुपर्ने भन्दै वाङका वकिलले चेतावनी दिएका थिए।
चीनमा आरोप लगाउने व्यक्ति चाँडै आफैं आरोपी बन्नसक्छन्। यौन दुर्व्यवहार गरेको भन्दै सार्वजनिक रूपमा आरोप लागेका कम्तिमा ६ जन पुरूषले आरोप लगाउने व्यक्ति वा उनीहरूको दाबीलाई प्रचार गर्ने विरूद्ध पोहोर साल मानहानीको मुद्दा लगाएका छन्।
सन् २०१० देखि २०१७ सम्म कार्यस्थलमा भएको यौन दुर्व्यवहार सम्बन्धी ३४ ओटा मुद्दा दर्ता भएका थिए। तीमध्ये १९ ओटा मुद्दाका आरोपीले आरोप लगाउने विरूद्ध नै मुद्दा हालेको बेइजिङ युआनझोङ जेन्डर डिभेलोप्मेन्ट सेन्टर नामक पैरवी समूहले जनाएको छ। आधाभन्दा धेरैले एकपक्षीय अनुचित ढङ्गले कामबाट निकालेको वा प्रतिष्ठामा आँच पुर्याएको भन्दै रोजगारदाताविरूद्ध मुद्दा दर्ता गरेका छन्।
एउटा घटनामा थप्पड हान्दा कानको जाली फुटेपछि पीडकलाई नै क्षतिपूर्ति दिनुपरेको छ। दुर्व्यवहार भएको बताउने महिलाले दुई वटा मात्रै मुद्दा दर्ता गरेका छन्। ह्याशट्याग मिटु आन्दोलनले व्यापकता पाएजसँगै अमेरिका, फ्रान्स, भारत र अन्यत्रका पुरूषले अदालतको ढोका ढक्ढकाएका छन्।
आरोप लगाउने व्यक्ति वा सञ्चार माध्यमले मानहानी गरेको भन्दै केही मुद्दा जितेका पनि छन्। अष्ट्रेलियाका अभिनेता जेफ्री रशको घटना उदाहरणीय छ। गत अप्रिलमा अष्ट्रेलियाको दि डेली टेलिग्राफ समाचारपत्र विरूद्ध रशले क्षतिपूर्ति वापत कम्तिमा ६ लाख अमेरिकी डलर पाएका थिए।
तर आरोप दबाउनलाई अदालत जाने तरिका चीनमा चरम भएको ह्याशट्याग मिटुका अभियन्ता बताउँछन्। पितृसतात्मक समाजमा आवाज उठाउँदा बदनामी सहनुपर्ने भएकोले महिलाले दोहोर्याएर विचार गर्न बाध्य बनाएको उनीहरू बताउँछन्।
सरकारले कानून ल्याएर यौन दुर्व्यवहार प्रतिबन्ध गरेको छ तर प्रष्ट कानून भने छैन। कार्यान्वयन पक्ष कमजोर छ। मानहानी सम्बन्धी कानून वादी पक्षको काँधमा छ। प्रमाणको बोझ पीडित उपर छ। प्रमाण बुझाउन नसके पीडितकै गल्ती मानिन्छ।
युआनझोङ जेन्डर डिभेलोप्मेन्ट सेन्टरका निर्देशक तथा वकिल ली यिङका अनुसार पीडितलाई प्राय: चुप रहन दबाब दिइन्छ। “हाम्रो समग्र समाज नै पूर्वाग्रही छ र यौन दुर्व्यवहारका पीडितलाई लाञ्छना लगाउँछ,” उनले बताइन्।
तर ह्याशट्याग मिटु आन्दोलनले केही हदसम्म भए पनि चीनमा परिवर्तन ल्याएको छ। दर्जनौं महिलाले हाकिम, शिक्षक र सहकर्मी विरूद्ध अनुसन्धानको माग गर्न प्रेरित गरेको छ। यौन दुर्व्यवहार रोकथाम गर्नलाई चिनियाँ कर्मचारीको कर्तव्य बढाउन सरकारले अगष्टमा नागरिक संहिता अद्यावधिक गर्यो।
तर बेइजिङले ह्याशट्याग मिटु सम्बन्धी अनलाइन छलफल भने दबाउने गरेको छ। आफ्नो नियन्त्रण नभएको सामाजिक आन्दोलनसँग बेइजिङ डराउँछ। युनिभर्सिटीको अफ हङकङको विच्याटस्कोप नामक अनुसन्धान परियोजनाले जनाए अनुसार सन् २०१८ मा विच्याट नामक “मेसेजिङ प्लेटफर्म”मा सबैभन्दा धेरै सेन्सर गरिएको शीर्षकमध्ये यौन दुराचार पनि एक थियो।
ह्याशट्याग मिटु र ह्याशट्याग वोयेशी (चिनियाँ भाषामा मिटू) चिनियाँ इन्टरनेटमा प्रतिबन्धित छ। इ कमर्सका टाइकुन रिचर्ड लिउले दर्ता गरेको मुद्दा नै सम्भवत: ह्याशट्याग मिटुको मानहानी सम्बन्धी चीनको सबैभन्दा लोकप्रिय मुद्दा हो। लिउ अनलाइन रिटेलर जेडी डट कमका संस्थापक हुन्। उनले दुई जना ब्लगर विरूद्ध मुद्दा हालेका छन्।
लिउ विरूद्ध पोहोर एउटा व्यावसायिक रात्रिभोजपछि मिन्नेसोटा विश्वविद्यालयका एक जना विद्यार्थीलाई बलात्कार गरेको आरोप लागेको थियो। ती दुई जनाले घटनाबारे प्रतिक्रया दिएका थिए। कुनै अभियोग नलगाइएका लिउले कानूनी लागत र क्षमायाचनासहित चार लाख ३६ हजार अमेरिकी डलर माग गरेका छन्।
पोहोर साल झोउ स्याओसुयन चीनको ह्याशट्याग मिटु आन्दोलनको अनुहार नै बनिन्। सरकारी प्रसारक चाइना सेन्ट्रल टेलिभिजनका कार्यक्रम प्रस्तोता झु जुनले सन् २०१४ मा यौन दुर्व्यवहार गरेको उनको आरोप थियो। सोही वर्ष झुले पनि झोउ विरूद्ध झूठो खबर फैलाएको भन्दै ९५ हजार अमेरिकी डलर बराबरको क्षतिपूर्ति माग गरे।
झोउले पनि आफ्नो आत्मसम्मानमा चोट पुगेको भन्दै क्षतिपूर्ति दाबी गरिन्। जुलाईमा शेन्जेनको एउटा अदालतमा इलिनोइ अर्बाना स्याम्पेन विश्वविद्यालयका पूर्व प्राध्यापकको सु गाङको मुद्दा सुनुवाइ भयो। उनले वेस्लियन विश्वविद्यालयका प्राध्यापक वाङ ओ विरूद्ध मुद्दा हालेक थिए।
डा. सुले थुप्रै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको भन्दै डा. वाङले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। डा. सुले आरोप अस्वीकार गरेका छन्। उनको वकिलले मानहानी भएको बताएका छन्।
सेप्टेम्बरमा डा. वाङ र डा. सुका दुई पूर्व विद्यार्थीले इलियोइमा मुद्दा दर्ता गराएका छन्। डा. सु विरूद्ध बलात्कार र यौन दुर्व्यवहारको आरोप लगाइएको छ। अर्को महिना चिनियाँ अदालतले डा. सुको पक्षमा फैसला गर्यो र १४ हजार अमेरिकी डलरभन्दा धेरै क्षतिपूर्ती दिलाएको डा. वाङले बताए। उनी फेरि अपिल गर्ने तयारीमा छन्।
प्राय: घटनाहरू धेरै समयअघि भएको हुन्छ। पीडितले प्रमाण पनि राखेका हुँदैनन्। यसले उनीहरूको आरोप पुष्टि गर्न कठिनाइ हुने गर्छ।
बेलिन्डा हे नौ वर्षअघि चिनियाँ भाषाको एउटा साप्ताहिकमा इन्टर्न थिइन्। त्यतिबेला उनी २१ वर्षकी थिइन्। एक जना वयस्क सहकर्मीले होटेलको कोठामा जबरजस्ती चुम्बन गरेको र लुगा फुकालिदिएको उनले आरोप लगाइन्। तर लामो समयसम्म उनले आरोप सार्वजनिक गरिनन्।
हेको कथा सुनेपछि पूर्व पत्रकार जोउ सिकोङ आक्रोशित भए। हेले एउटा लेख लेखिन् र जोउलाई दिइन्। तर जोउले सन् २०१८ मा आफ्नो व्यक्तिगत विच्याट खातामा पोस्ट गरिदिए। लेखमा पत्रिकाका प्रमुख संवाददाता देङ फेइको नाम खुलाइएको थियो भने हेलाई “लेडि सि” भनिएको थियो।
तीन महिनापछि देङले जोउ विरूद्ध मानहानीको मुद्दा हाले। सोही आरोपमा देङले हे विरूद्ध पनि मुद्दा हालेको अगष्टमा सूचना पाइन्। हेजस्ता महिलालाई न्या दिलाउन र अभिव्यक्ति स्वतन्त्रता अधिकारको सुरक्षा गर्न आफू तयार रहेको जोउले बताए।
'यो हाम्रो मूल्य मान्यता सम्बन्धी प्रणालीको एउटा अंश हो। यसका लागि जुनसुकै मुल्य चुकाउन तयार छु,” उनले भने।
विश्व वन्यजन्तु कोषका पूर्व कर्मचारी वाङको मानहानीसम्बन्धी मुद्दामा पनि त्यसता थुप्रै कठिनाइ आएका छन्। चीनमा ह्याशट्याग मिटु आन्दोलन सुरू भएपछि यौन दुर्व्यवहार सम्बन्धी यो नै पहिलो मुद्दा भएको महिला अधिकारकर्मीले बताएका छन्।
जुलाई २०१८ मा कामको सिलसिलामा भ्रमणमा रहँदा “विश्व वन्यजन्तु कोषका झु नाम गरेका वरिष्ठ कर्मचारीले” मार्च १४, २०१६ मा रक्सीले मातेर चुम्बन गरेको व्यवहोरा वेइबोमा पोस्ट गरिन्। डिप्रेसन भएपछि सन् २०१७ मा कामबाट राजीनामा दिएको उनले बताइन्। एउटा चुम्बनकै विषयलाई किन ठूलो बनाएको भन्दै केहीले सोधे पनि। साथीहरूले घटनाबारे नबोल्न सल्लाह दिए। उनलाई सावधान रहन सचेत गरे।
“मलाई रिस मात्रै उठेको छ,” वाङले लेखिने,“उसलाई अदालतसम्म पुर्याउने मेरो क्षमता छैन।”
सामाजिक सञ्जालमा त्यस्तो व्यवहोरा पोस्ट गरेपछि दर्जनौं महिलाले पनि त्यस्तै अनुभव गरेको तर बोल्ने आँट नआएको भन्ने प्रत्युत्तर दिएको वाङले बताइन्। विश्व वन्यजन्तु कोष मार्फत् अनुरोध गर्दा झुले कुनै प्रतिक्रिया दिएनन्। मोबाइलमा फोन गर्दा पनि उठाएनन्।
डिसेम्बर २०१८ को चिसो दिनमा वाङ बेइजिङको अदालतमा उपस्थित भइन्। उनी प्रतिरक्षाको तयारीमा लागिन्। उनका वकिल, पत्रकार र एक जना समर्थक गरी जम्मा ६ जना चार जनाको सिटमा अटिनअटी बसेका थिए। झु अर्थात् पूर्व हाकिम अदालत प्रवेश गर्दा वाङले आँखा जुधाइनन्।
समर्थक ताङ केले आँखा तरे। वाङलाई व्यक्तिगत रूपमा नचिने पनि वेइबोमा उनको पोस्ट देखेर आउने निर्णय गरेको ताङले बताइन्। “हेर त। अझै कसरी मुस्कुराउन सकेको होला?” ताङले दाह्रा किट्दै सोधिन्।
पछि, न्यायाधीशले उनीहरूलाई अदालतमा उपस्थित हुनुको कारण सोधे। झुका वकिलहरूले पनि गोपनियता उद्धृत गर्दै सुनुवाइमा सर्वसाधारणलाई सहभागी गराउन नहुने तर्क गरे। न्यायाधीशले अनुरोध स्वीकार गरे। ताङले त्यसको विरोध गरिन्।
अदालतबाहिर तीन जना पुरूषले यौन दुर्व्यवहार गरेको ताङले बताइन्। वाङविरूद्ध मुद्दा लगाउने झुलाई उनले “बुल्ली” भनिन्। ह्याशट्याग मिटुमाथि सरकारले लगाएको सेन्सरविरूद्ध आवाज उठाउन आफू अदालत आएको ताङले बताइन्।
“यौन दुर्व्यवहारबारे सबै महिला बोल्न सक्ने भए र यी पुरूषलाई अनलाइनमार्फत् खुलेआम गर्न सके, पुरूषले पनि मुल्य चुकाउनुपर्छ,” ताङले भनिन्। “अनि मुल्य चुकाउनु परेपछि, उनीहरूले त्यस्तो व्यवहार गर्ने आँट गर्ने छैनन्।”
अन्तत: चीनको पहिलो ह्याशट्याग मिटु सुनुवाइमा झुको जित भयो। यो साता अदालतले झुको पक्षमा र वाङ विरूद्ध फैसला गर्यो। वाङले क्षतिपूर्ति विरूद्ध केही भुक्तान गर्नु नपरे पनि अदालतले उनलाई माफी माग्न र आरोप लगाइएका पोस्टहरू डिलिट गर्न निर्देशन दिएको छ।