Kathmandu Press

अन्तराष्ट्रिय फुटबलबाट बेन्जिमाको सन्न्यास

चोटका कारण कतार विश्वकप गुमाएका उनले सामाजिक सञ्जालमार्फत विश्वकप सकिएलगत्तै सन्न्यासको घोषणा गरेका हुन्।
अन्तराष्ट्रिय फुटबलबाट बेन्जिमाको सन्न्यास

काठमाडाैं, पुस ४ : फ्रेन्च स्ट्राइकर करिम बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन्। चोटका कारण कतार विश्वकप गुमाएका उनले सामाजिक सञ्जालमार्फत विश्वकप सकिएलगत्तै सन्न्यासको घोषणा गरेका हुन्।

यस वर्षका बालोन डे’ओर विजेता ३५ वर्षीय बेन्जिमा अभ्यासका क्रममा कतारमा घाइते भएका थिए। चोटपछि बेन्जिमाले कतारमै बसेर ‘रिकभर’ हुन चाहेका थिए, तर प्रशिक्षक र टिम व्यवस्थापकले उनलाई कतारबाट फर्काका थिए।

त्यसपछि मड्रिड पुगेका बेन्जिमा विश्वकपको नकआउट चरण सुरु नहुँदै चोटमुक्त हुँदै प्रशिक्षणमा फर्किएका थिए। फ्रान्स विश्वकपको फाइनल पुगेपछि बेन्जिमा कतार आउने र फाइनल खेल्ने चर्चा चलेको थियो। तर, बेन्जिफमा आफैंले फाइनल नखेल्ने बताएका थिए।

सन् २००७मा फ्रेन्च टिममा डेब्यू गरेका बेन्जिमाले फ्रान्सका लागि ९७ खेल खेल्दै ३७ गोल गरेका छन्। सेक्स टेप विवादमा मुछिएपछि बेन्जिमाले सन् २०१५ देखि ६ वर्ष राष्ट्रिय टिम बाहिर रहेका थिए। त्यसपछि उनी गत वर्ष भएको युरोकपअघि टिममा फर्किएका थिए।

केही सिजनयता बेन्जिमा उत्कृष्ट फर्ममा छन्। रियल मड्रिडबाट व्यवसायिक फुटबल खेल्ने बेन्जिमाले रियलका लागि ६१७ खेलमा ३२९ गोल गरेका छन्।

प्रकाशित मिति: २१:३७ बजे, सोमबार, पुस ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्