Kathmandu Press

नदीमा जलसतह घटेपछि निर्यात हुन छाड्यो बिजुली

स्वदेशमै बिजुली आपूर्ति गर्नुपर्ने भएकाले भारतमा हुँदै आएको निर्यात रोकिएको प्राधिकरणका प्रवक्ता एवं भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले जानकारी दिए।
नदीमा जलसतह घटेपछि निर्यात हुन छाड्यो बिजुली

काठमाडाैं, पुस ४ : नदीमा जलसतह लगातार घटेपछि नेपाल विद्युत् प्राधिकरणले भारततर्फको बिजुली निर्यात रोकेको छ।

स्वदेशमै बिजुली आपूर्ति गर्नुपर्ने भएकाले भारतमा हुँदै आएको निर्यात रोकिएको प्राधिकरणका प्रवक्ता एवं भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले जानकारी दिए।

प्राधिकरणले यसवर्ष कूल रु ११ अर्ब बराबरको बिजुली भारत निर्यात गरेको छ। गत जेठ १९ गतेदेखि भारत निर्यात सुरु गरेको प्राधिकरणले गत मङ्सिर अन्तिम सातासम्म निर्यात गरेको थियो। 

Hardik ivf

सुरुमा ३९ मेगावाटबाट निर्यात सुरु गरेको प्राधिकरणले कूल चार सय १९ मेगावाटसम्म निर्यात गरेको थियो। भारतमा प्रतियुनिट बिजुली औसत आठ रुपैयाँ २५ पैसामा बिजुली बिक्री गरिएको थियो। 

प्राधिकरणले दैनिक बोलकबोलमार्फत तय हुने ‘डे अहेड’ मार्केटमा बिजुली बिक्री गरेको थियो। पछिल्लो पटक कूल चार सय १९ मेगावाट बराबरको बिजुली बिक्रीका लागि अनुमति प्राप्त भएको थियो। प्राधिकरणले थप केही आयोजनाको बिजुली बिक्रीका लागि अनुमति मागेको भए पनि लामो समयसम्म निर्णय आएको थिएन।

नदीमा जलसतह घटेपछि आन्तरिक माग व्यवस्थापनका लागि प्राधिकरणले हाल भारतबाट तीन हजार मेगावाट घण्टा बराबरको बिजुली आयात गरेको प्रवक्ता भट्टराईले जानकारी दिए। 

बिहान ३ बजेदेखि ११ बजेसम्मको माग व्यवस्थापनका लागि प्राधिकरणले बिजुली आयात गरिरहेको छ। सो समयमा माथिल्लो तामाकोशी र कालीगण्डकी ‘ए’ आयोजना बन्द गरिने गरिएको छ। प्राधिकरणका अनुसार हाल कूल माग एक हजार पाँच सय १२ मेगावाट बराबर छ। 

चिसो बढेसँगै बिजुलीको मागमा पनि वृद्धि भइरहेको छ। कोठा न्यानो बनाउन बिजुलीको प्रयोगमा वृद्धि भएपछि मागमा वृद्धि भएको हो। कुल उत्पादित बिजुलीमध्ये प्राधिकरणका आयोजनाबाट सात हजार आठ सय ७४ मेगावाट घण्टा, सहायक कम्पनीका आयोजनाबाट चार हजार चार सय ४३ मेगावाट घण्टा उत्पादन भएको छ। 

त्यस्तै, निजी क्षेत्रका आयोजनाबाट बाह्र हजार सात सय ४० मेगावाट घण्टा बिजुली उपलब्ध छ। यस्तै, विभिन्न स्थानमा भएको अवरोधका कारण दुई सय ३३ मेगावाट घण्टा प्रणालीभन्दा बाहिर छ। मुलुकभित्रको कूल जडित क्षमता दुई हजार दुई सय ५० मेगावाट बराबर छ। चालु आवको अन्त्यसम्म प्रणालीमा थप आठ सय मेगावाट बराबरको बिजुली थप हुनेछ।

प्राधिकरणको माग अनुसारको अनुमति नपाएपछि वर्षायाममा केही बिजुली खेर गएको थियो। चालु आवमा थप हुने बिजुलीको भारत निर्यातका लागि वा आन्तरिक खपतका लागि आवश्यक व्यवस्था गर्न नसकिए प्राधिकरणलाई ठूलो घाटा हुने अवस्था पनि उत्तिकै छ। तर हिउँद लागेपछि नदीमा जलसतह ओरोलो लाग्दा अपेक्षित क्षमता अनुसारको बिजुली उत्पादन हुनसक्दैन।

यद्यपि चालु आवको तीन महिनामा मात्रै प्राधिकरणले आठ अर्ब ५० करोड बराबरको नाफा कमाएको छ। यस्तै, २० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकलाई रु ३० मात्रै महसुल तिर्दा हुने व्यवस्था गरिएको छ। त्यसबाट पनि प्राधिकरणले उपभोक्तालाई वार्षिक रु २० अर्ब बराबरको राहत दिएको दाबी गरेको छ।

आन्तरिक रुपमा नै बिजुलीको खपत बढाउनका लागि पहल भए पनि पछिल्ला दिनमा औद्योगिक क्षेत्रमा बिजुलीको माग घटेको छ। बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव तथा उपभोक्ता मुद्रास्फीति बढेकाले उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्। जसको प्रभाव पनि बिजुलीको खपतमा परेको छ।

प्रकाशित मिति: १४:०० बजे, सोमबार, पुस ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्