Kathmandu Press

३६ वर्षपछि अर्जेन्टिना बन्यो विश्व च्याम्पियन

लुसेल रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना विश्व च्याम्पियन बनेको हो।
३६ वर्षपछि अर्जेन्टिना बन्यो विश्व च्याम्पियन

काठमाडाैं, पुस ३ : सुपरस्टार लियोनल मेसीको नेतृत्वमा अर्जेन्टिनाले विश्वकप उपाधि जितेको छ। लुसेल रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना विश्व च्याम्पियन बनेको हो।

हारबाट प्रतियोगिताको सुरुआत गरेको मेसी प्रेरित अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा फ्रान्सलाई ४–३ले हरायो। यसअघि अर्जेन्टिना सन् १९८६मा च्याम्पियन बनेको थियो।

अर्जेन्टिनालाई उपाधि दिलाउन पनुः एक पटक गोलकिपर इमिलियानो मार्टिनेज हिरो बने । उनले अतिरिक्त समयको अन्तिम मिनेटमा कोलो मुवानीको कडा प्रहार उत्कृष्ट तवरले बचाउ गरेका थिए। यस्तै, उनले पेनाल्टी सुटआउटमा किंग्स्ले कोमनको प्रहार पनि बताएका थिए।

पेनाल्टमा अर्जेन्टिनाका कप्तान लियोनल मेसी, लियान्द्रो पेरेडेस, पाउलो डिबाला र गोन्जालो मोन्टियालले गोल गर्दा फ्रान्सका किलियन एम्बाप्पे, रान्डल कोलो मुवानीले गोल गर्दा ओरालेन चुआमेनीको प्रहार बाहिरिएको थियो भने कोमनको प्रहार मार्टिनेजले रोकेका थिए।

निकै रोमाञ्चक र प्रतिस्पर्धात्म बनेको खेलको ९० मिनेट २–२ गोलको बराबरीमा सकिएको थियो भने अतिरिक्त सयमा थप १–१ गोल भएको थियो ।

खेलको पहिलो हाफमा अर्जेन्टिनाले पूर्ण दबाब बनाएको थियो । उसले २३औं मिनेटमा मेसीको गोलमा अग्रता लियो । उनले डि मारियालाई डिबक्समा फाउल गरेपछि प्राप्त पेनाल्टीमा गोल गरेका थिए। यो मेसीको प्रतियोगिताको छैठौं गोल हो।

यस्तै, ३६औं मिनेटमा काउन्टरमा मार्क एलिस्टरको पासमा डि मारियाले गोल गरेपछि पहिलो हाफमा अर्जेन्टिनाले २–०को अग्रता लियो।

तर, दोस्रो हाफमा फ्रान्स खेलमा फर्कियो। उसले २ मिनेट अन्तरमा २ गोल गरेको थियो । दुवै गोल एम्बाप्पेले गरे । उनले ८०औं मिनेटमा मुवानीलाई लडाएपछि प्राप्त पेनाल्टीमा गोल गरेका थिए भने ८१औं मिनेटमा मार्कस थुरामको पासमा गोल गरेका थिए।

त्यसपछि १०८औं मिनेटमा मेसीले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए। उनका यो जारी विश्वकपको सातौं गोल हो। ११८औं मिनेटमा फ्रान्सले फेरि पेनाल्टी पायो । पेरेडेसले डि बक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा एम्बाप्पेले गोल गरे ।

यो गोलसँगै उनी विश्वकपको फाइनलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बने । यसअघि सन् १९६६मा जियोफ हर्टले ह्याट्रिक गरेका थिए । २३ वर्षीय एम्बाप्पेले विश्वकपमा कुल ८ गोल गरे।

प्रकाशित मिति: २३:५० बजे, आइतबार, पुस ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्