पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्त, नयाँ प्रशिक्षकमा मोरिन्होको चर्चा
८ वर्ष पोर्चुगिज टिमको मुख्य प्रशिक्षक बनेका सान्तोष कतार विश्वकपमा विवादमा तानिए। नकआउटका दुवै खेलमा सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि उनी विवादमा तानिएका थिए।
काठमाडौं, पुस १ : पोर्चुगल राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक फर्नान्डो सान्तोष बर्खास्त भएका छन् । पोर्चुगल विश्वकपको क्वार्टरफाइनलबाटै बाहिरएपछि पोर्चुगल फुटबल एसोसिएशनले सान्तोषलाई बर्खास्त गरेको हो ।
८ वर्ष पोर्चुगिज टिमको मुख्य प्रशिक्षक बनेका सान्तोष कतार विश्वकपमा विवादमा तानिए। नकआउटका दुवै खेलमा सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि उनी विवादमा तानिएका थिए।
कतार विश्वकपको क्वार्टरफाइनलमा पोर्चुगल मोरक्कोसँग १–० ले पराजित भएको थियो । सो खेलमा रोनाल्डोलार्इ बेञ्चमा राखेपछि सान्तोषको चर्को आलोचना भएको थियो। मोरक्कोविरुद्ध दोस्रो हाफपछि मात्रै रोनाल्डोले मैदान प्रवेश पाएका थिए ।
त्यसअघि अन्तिम १६ को खेलमा पनि रोनाल्डो बेञ्चमै राखिएका थिए । उनको स्थानमा सान्तोषले युवा स्ट्राइकर गोन्सालो रामोसलाई अवसर दिएका थिए । रामोसले ह्याट्रिक प्रहार गरेको सो खेलमा पोर्चुंगल ६–१ ले विजयी भएको थियो ।
अन्तिम १६ मा रोनाल्डोलाई बेञ्चमा राख्ने सान्तोषको निर्णय प्रत्यूत्पादक नभए पनि सेमिफाइनलमा भने उनको निर्णय टिमका लागि हानिकारक साबित भयो । यसपाली पोर्चुगललाई विश्वकप जिताउने लक्ष्यमा रहेका रोनाल्डो क्वार्टरफाइनलको हारपछि स्तब्ध हुँदै मैदान बाहिरिएका थिए । यता, प्रशिक्षक सान्तोषले भने रोनाल्डोलाई बेञ्चमा राखेर आफूलाई कुनै पश्चाताप नरहेको अभिव्यक्ति दिएका थिए ।
गर या मरको स्थितिमा पनि रोनाल्डोलाई बेञ्चमा राख्ने निर्णय गरेकै कारण सान्तोष बर्खास्तीमा परेका हुन् । एसोसिएसनले हालसम्मको योगदानका लागि सान्तोसलाई धन्यवाद ज्ञापन गरेको छ । उनको बर्खास्तीसँगै पोर्चुगलले नयाँ प्रशिक्षक भित्र्याउने प्रक्रिया थालेको छ ।
पोर्चुगलका नयाँ प्रशिक्षकमा इटालियन फुटबल क्लब रोमाका जोसे मोरिन्होको चर्चा चलेको छ । क्लब फुटबलका सबैभन्दा सफल प्रशिक्षक मोरिन्हो तीन फरक क्लबाट च्याम्पियन्स लिग जित्ने र युईएएफका सबै उपाधि जित्ने एक्ला प्रशिक्षक हुन्। उनले एफसी पोर्तो, रियल मड्रिड र चेल्सीबाट च्याम्पियन्स लिग जितेका छन्।











