हैटीमा शान्ति सेनाले सयौं सन्तान जन्माएर अलपत्र पारेको खुलासा
संयुक्त राष्ट्रको शान्ति सेनाले हैटीमा सयौं सन्तान जन्माएर अलपत्र पारेको खुलेको छ। हालै सार्वजनिक नयाँ अध्ययन अनुसार सेना स्वेदश फर्किएपछि अलपत्र आमाहरू लाञ्छना, गरिबी....
संयुक्त राष्ट्रको शान्ति सेनाले हैटीमा सयौं सन्तान जन्माएर अलपत्र पारेको खुलेको छ। हालै सार्वजनिक नयाँ अध्ययन अनुसार सेना स्वेदश फर्किएपछि अलपत्र आमाहरू लाञ्छना, गरिबी र एकल अभिभावकको जिम्मेवारीसँगै सङ्घर्ष गरिरहेका छन्।
संयुक्त राष्ट्र संघले हैटी र अन्यत्र यौन दुर्व्यवहार र शोषणका थुप्रै घटना भएको स्वीकार गरेको छ। हैटीका पीडितको अध्ययनले त्यहाँको समस्या अझै विकराल रहेको देखाएको छ।
सन् २००४ देखि २०१७ सम्म हैटीमा खटिएका शान्ति सेनाले “११ वर्षका बालिकालाई समेत दुर्व्यवहार गरेको र गर्भवती बनाएको” अनुसन्धाताले बताएका छन्। तीमध्ये अलपत्र छाडिएका केही एक्लै सन्तान हुर्काउन बाध्य छन्।
अध्ययनमा २५ सय हैटीवासीको अन्तर्वार्ता लिइएको छ। उनीहरू सन् २०१७ को गृष्ममा शान्ति सेनाको आधार शिविर नजिकै बसेका थिए। केही सेना र नागरिकले गरेको शोषण र दुर्व्यवहार अध्ययनमा खुलेको छ। हैटीमा खटिएका संयुक्त राष्ट्र संघको शान्ति सेना मिसनलाई फ्रान्सेली भाषामा “मिन्युस्ताह” र उनीहरूबाट जन्मिएका सन्तानलाई “पेटिट्स मिन्युस्ताह” भनिन्छ।
संघको डिपार्टमेन्ट अफ पिसकिपिङ अपरेसन्सले वक्तव्य जारी गर्दै अध्ययनले उठाएको मुद्दालाई गम्भीर रूपमा लिएको र शान्ति सेनाले गर्ने यौन दुर्व्यवहार र शोषणको प्रतिरोध गर्नु महासचिव एन्टोनियो गुटेर्रेसको उच्च प्राथमिकता भएको प्रतिक्रिया दिएको छ।
“दुर्भाग्यवश पछिल्ला वर्षहरूमा मिन्युस्ताह शान्ति सेना संलग्न घटनाहरू हामीले भेटेका छौं तर सन् २०१३ देखि यस्ता आरोपहरू घट्दै आएका छन्,” वक्तव्यमा उल्लेख छ।
यसअघि सन् २००४ देखि २००७ सम्म हैटीमा खटाइएको श्रीलङ्काको शान्ति सेनाले नौ बालबालिकाको यौन शोषण गरेको संयुक्त राष्ट्रसंघले स्वीकारेको थियो। उनीहरूलाई सजाय नदिई स्वदेश फिर्ता पठाइएको थियो।
नयाँ अध्ययन बर्मिङ्घम विश्वविद्यालयका इतिहासका प्राध्यापक सबिन ली र ओन्टारियोको क्विन्स विश्वविद्यालयका वैज्ञानिक सुसन बार्टेल्सले गरेका हुन्। मोजाम्बिक, बोस्निया, कंगो र सेन्ट्रल अफ्रिकन रिपब्लिक लगायतका देशमा खटाइएका देशमा अन्तर्राष्ट्रिय शान्ति सेनाले गरेको यौन दुर्व्यवहारको दस्तावेज तयार गर्ने यो नयाँ अध्ययन हो।
लेखकले अन्तर्वार्ता लिएकामध्ये २६५ जनाले शान्ति सेनाका खटिएका सैनिकले हैटीमा सन्तान जन्माएको बताए। उनीहरू थोरैमा पनि १३ देशबाट आएका थिए। अध्ययनको तालिका अनुसार अधिकांश भने उरूग्वे र ब्राजिलबाट आएका थिए।
“अन्तर्वार्ता गरिएको त्यो दश प्रतिशतले यस्ता कथाहरू कति सामान्य बन्दै गएका छन्, त्यसलाई झल्काउँछ,” अनुसन्धाताले लेखेका छन्। पछिल्ला वर्षहरूमा समाचार संस्थाहरूले “संयुक्त राष्ट्र संघका अधिकारीसँग यौन सम्पर्क राखेवापत नाबालिगलाई खाना र थोरै नगद दिइएको” घटनाहरू उल्लेख गरेका छन्।
अनुसन्धाताले शान्ति सेनाले गर्भवती बनाएका वा उनीहरूबाट जन्मिएका सन्तानको संख्या अनुमान गरेको छैन। तर कानून विशेषज्ञ र सामाजिक कार्यकर्ताहरूले समस्या व्यापक भएको र संयुक्त राष्ट्रसंघले महिलालाई सहयोग गर्न नसकेको बताउँछन्।
ब्युरो डि एभोक्याट्स इन्टरनेसनक्स पोर्ट अउ¬ प्रिन्सस्थित हैटीका वकिलहरूको एउटा समूह हो। शान्ति सेनाबाट जन्मिएका दश जना बालबालिकाको तर्फबाट समूहले बाबुको पहिचान गराउने मुद्दा दायर गरेका छन्।
समूहले सन् २०१६ मा बालबालिकाको स्याहार सुसारका लागि सहयोग सुरक्षित गर्न संयुक्त राष्ट्र संघका अधिकारीको ध्यानाकर्षण गरे पनि अहिलेसम्म केही नपाएको इन्स्टिच्यूट फर जस्टिस एन्ड डेमोक्रेसी इन हैटीको स्टाफ एटोर्नी सियन्ना मेरोप सिञ्जले बताइन्।
“संयुक्त राष्ट्र संघ स्वत:स्फूर्त हुनुपर्छ,” उनले भनिन्,“हैटीको ग्रामीण महिलाले उरूग्वेमा रहेका पुरूषलाई अन्तर्राष्ट्रिय कारवाही गराउन सक्दैनन्।”
अन्यले संयुक्त राष्ट्र संघको चर्को आलोचना गरेका छन्।
नयाँ अध्ययनले संस्थाको पितृसत्तात्मक सोचको अर्को उदाहरण पेश गरेको उनीहरूले बताएका छन्। एड्स फ्रि वर्ल्डले यौन शोषण र लैङ्गिक मुद्दाबारे संयुक्त राष्ट्र संघको आलोचना गर्दै आएको छ। समूहकी सह संस्थापक तथा सह निर्देशक पोला डोनोभान अध्ययनले उनको दृष्टिकोण पुष्टि गरेको बताउँछिन्।
“यो अध्ययनले पालमा बसेकादेखि सम्मेनलहरूमा प्रस्तुति दिने महिलाको शोषण गर्नु र यौन शोषणबारे गुनासो पोख्ने र संयुक्त राष्ट्र संघको पितृसत्ताको ७५ वर्षे पुरानो विशेषाधिकार र दण्डहिनतालाई धम्क्याउने महिलालाई किराफट्याङ्ग्राजस्तै किच्नु संयुक्त राष्ट्रसंघको अभ्यास भएको देखाउँछ,” डोनोभानले एउटा वक्तव्यमा भनेकी छिन्।
केही आमाले संयुक्त राष्ट्रका कर्मचारीले यौन हिंसा गरेको अनुसन्धातालाई बताए पनि अधिकांश सुक्ष्म रूपले जबरजस्ती गरिएका कथाहरू थिए। विपन्न महिला र बालिकासँग यौन सम्पर्क राखे वापत खाना वा थोरै पैसाको लोभ देखाउँथे। केहीले घटनामा महिला र उनका नातेदारले राजिखुशीले सम्बन्ध बनाइएको भए पनि शान्ति सेना हैटीबाट फर्किएपछि टुटेको बताए।
संयुक्त राष्ट्रसंघको दश वटा आधारशिविर वरपर रहेका समुदायका हैटीवासीलाई “शान्तिसेना मिसनलाई स्वागत गर्ने समुदायमा महिला वा बालिका हुनु कस्तो हुन्छ” भनेर सोधिएको अनुसन्धाताले बताए। उनीहरूलाई सम्भावित शोषण वा शान्तिसेनासँग यौन सम्बन्धबारे किटान गरेर नसोधिएको अध्ययनमा उल्लेख छ। सहभागी आफैंले विषयवस्तु उठाएका थिए।
“म ऊसँग बोल्न थालें। त्यसले उसले मलाई प्रेम गर्ने बतायो। अनि म राजी भएँ,” एक जना शान्ति सेनासँग वर्षौंअघि भएको सम्बन्धबारे एक महिलाले भनिन्, “त्यसको तीन महिनापछि म गर्भवती भएँ। सेप्टेम्बरमा उसलाई आफ्नै देश पठाइयो।” छोरोलाई विद्यालय पठाउने खर्च धान्न नसक्ने उनले बताइन्।
यी कथाहरूले लाइबेरियाको झल्को दिएको छ। त्यहाँ सन् १९९० देखि १९९८ सम्म खटिएका अन्तर्राष्ट्रिय शान्ति सेनाले हजारौं सन्तान जन्माएको बताइन्छ।
सन् २००४ को विद्रोहले राष्ट्रपति जँ बर्ट्रान्ड एरिस्टाइडलाई पदच्युत गरेपछि हैटीमा स्थायित्व ल्याउने प्रयास स्वरूप शान्ति सेनाको मिसन सुरू भएको हो। सन् २०१० मा गएको भूकम्पले देशमा विध्वंश मच्चाएपछि संयुक्त राष्ट्र संघले शान्ति सेनाको अवधि बढायो।
तर मिसन आफैंमा विध्वंसकारी भएको मानवअधिकारवादी संस्था र अनुसन्धाता बताउँछन्। शान्ति सेनाले नियत बेगर दर्जनौं नागरिकको हत्या गरेको र केहीले भूकम्पपछि हैजा फैलाएको आरोप लगाएका छन्। हैजाको महामारीले हैटीमा दश हजारको ज्यान लिनुका साथै आठ लाखभन्दा धेरै बिरामी भए।
संयुक्त राष्ट्र संघले महामारीमा खेलेको भूमिकाका लागि माफी मागे पनि हैजा पीडित र उनीहरूका परिवारलाई क्षतिपूर्ति दिने कानूनी प्रयासको विरोध गर्यो। अलपत्र पारिएका आमा र सन्तानको आर्थिक तथा सामाजिक कठिनाइबारे संयुक्त राष्ट्र संघले आफ्ना कर्मचारीलाई शिक्षा दिनुपर्ने अनुसन्धाताले सुझाव दिएका छन्।
यौन दुर्व्यवहार वा शोषणको आरोप लागेका कर्मचारीलाई स्वदेश फिर्ता गराउने नभएर स्थानीय अधिकारीको जिम्मा लगाउन पनि उनीहरूले आग्रह गरेका छन्। मुख्य अनुसन्धाता लीले संयुक्त राष्ट्र संघको शान्ति सेनाका सदस्य राष्ट्रले पनि ती आमा र उनीहरूका सन्तानप्रति प्रत्यक्ष जिम्मेवारी वहन गर्नुपर्ने बताइन्।
“यो संयुक्त राष्ट्र संघको समस्या होइन। यो ब्राजिल वा उरूग्वेको सैन्य समस्या हो,” ली भन्छिन्,“तर संयुक्त राष्ट्र संघले सदस्य राष्ट्रलाई उत्तरदायी बनाउने बाटो भेटेको छैन।”