Kathmandu Press

एम्बाप्पेकाे दुई गाेलमा फ्रान्स क्वार्टरफाइनलमा

आइतबार राति अल थुमाम स्टेडियममा भएको खेलमा एम्बाप्पेप्रेरित फ्रान्सले पोल्यान्डमाथि ३-१को जित निकाल्यो।
एम्बाप्पेकाे दुई गाेलमा फ्रान्स क्वार्टरफाइनलमा

काठमाडाैं, मंसिर १८ : युवा स्ट्राइकर किलियन एम्बाप्पेले पुनः एक पटक उत्कृष्ट प्रदर्शन गरेपछि फ्रान्स कतार विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। आइतबार राति अल थुमाम स्टेडियममा भएको खेलमा एम्बाप्पेप्रेरित फ्रान्सले पोल्यान्डमाथि ३-१को जित निकाल्यो।

फ्रान्सले पोल्यान्डविरुद्ध गरेका तीनै गोलमा एम्बाप्पेको इन्भल्मेन्ट रह्यो। खेलमा उनले २ गोल गरेका उनले ओलिभर जिरुडका लागि पास उपलब्ध गराएका थिए। पोल्यान्डका लागि लेवान्डोेस्कीले गोल गरे।

पहिलो हाफको अन्त्यतिर जिरुडले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। उनले एम्बाप्पेको पासमा ४४औं मिनेटमा गोल गरेका थिए। यो गोलसँगै जिरुड फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडी बने।

पहिलोमा १ गोलको अग्रता लिएको फ्रान्सले ७४औं मिनेटमा अग्रता दोब्बर बनायो। यो पटक एम्बाप्पेले उसमान डेम्बेलेको पासमा डिबक्सको ठीक भित्रबाट उत्कृष्ट फिनिसिङ गरे। यस्तै, उनले इन्जुरी समयको पहिलो मिनेटमा मार्कस थुरामको पासमा गोल गर्दै टिमलाई ३-०को अवस्थामा ल्याए।

योसँगै एम्बाप्पेले जारी विश्वमा आफ्नो गोल संख्या ५ पुर्याएका छन् । र, उनले गोल्डेन बुटका लागि बलियो दाबेदारी पेश गरेका छन् । समग्र विश्वकपमा भने उनको यो नवौं गोल हो।

इन्जुरी समयको पनि अन्तिम मिनेटमा पोल्यान्डले सान्त्वना गोल फर्कायो। फ्रान्सका खेलाडीले डिबक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा रोबर्ट लोवान्डोस्कीले गोल गरे। यो उनको विश्वकपको दोस्रो गोल हो।

प्रकाशित मिति: २३:०६ बजे, आइतबार, मंसिर १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्