जर्मनी समूह चरणबाटै बाहिरियो
कोस्टारिकाविरुद्ध ४-२को जित निकालेको जर्मनीको ४ अंक भएपनि ऊ स्पेनसँग गोलअन्तरमा पछि पर्दै प्रतियोगिताबाट बाहिरियो। जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिएको यो लगातार दोस्रो पटक हो।
काठमाडौं, मंसिर १६ : चार पटकको च्याम्पियन जर्मनी कतार विश्वकपमा समूह चरणबाटै बाहिरिएको छ। समूहको अन्तिम खेलमा कोस्टारिकाविरुद्ध जित निकाले पनि जापानले स्पेनलाई हराएपछि जर्मनी समूह चरणबाटै बाहिरिएको हो।
कोस्टारिकाविरुद्ध ४-२को जित निकालेको जर्मनीको ४ अंक भएपनि ऊ स्पेनसँग गोलअन्तरमा पछि पर्दै प्रतियोगिताबाट बाहिरियो। जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिएको यो लगातार दोस्रो पटक हो।
यसअघि रसिया विश्वकपमा पनि उ समूह चरणबाटै बाहिरिएको थियो।समूह एफबाट आश्चर्यजनक रुपमा जापान समूह विजेता बन्दा स्पेन उपविजेता बन्यो।
कोस्टारिकाविरुद्ध जर्मनीलाई जित दिलाउन काइ हाभर्ट्जले २ तथा सर्ज गनाब्री र निक्लस फुलक्रुगले गोल गरे। कोस्टारिकाका याल्टसिन टेजेडा गोल गरे भने अर्का गोल जर्मनीका गोलकिपरले आत्मघाती गरेका थिए।
१०औं मिनेटमा गनाब्रीले गोल गर्दै जर्मनीलाई अग्रता दिलाए। पहिलो हाफ १००मै सकियो। ५८औं मिनेटमा टेजेडालो गोल गर्दै खेलालाई बराबरीमा ल्याए। ७०औं मिनेटमा म्यानुअल नोयरले आफ्नै पोस्टमा गोल गरेपछि खेलमा कोस्टारिकाले अग्रता लियो।
तर, ७३ र ८५औं मिनेटमा हाभर्ट्जले गोल गर्दै जर्मनीलाई पुनः अग्रता दिलाए। ८९ मिनेटमा फुलक्रुगले गोल गरेपछि जर्मनीको जित पक्का भयो। तर, यो जित उसलाई नकआउट पुर्याउन पर्याप्त भएन।











