यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट बाहिरियाे प्रदेश १
टियु क्रिकेट मैदानमा बिहीबार लुम्बिनी प्रदेशसँग पराजित हुँदै प्रदेश १ बाहिरिएको हो। लुम्बिनीले लगातार चौथो जित निकाल्ने क्रममा प्रदेश १ लाई ६ विकेटले पराजित गरेको हो।
काठमाडौं, मंसिर १५ : प्रदेश १ राजधानीमा जारी यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ।
टियु क्रिकेट मैदानमा बिहीबार लुम्बिनी प्रदेशसँग पराजित हुँदै प्रदेश १ बाहिरिएको हो। लुम्बिनीले लगातार चौथो जित निकाल्ने क्रममा प्रदेश १ लाई ६ विकेटले पराजित गरेको हो।
प्रदेश १ ले दिएको ७० रनको लक्ष्य लुम्बिनीले १६ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीको जितमा देव खनालले १९ रन जोड्दा आकाश त्रिपाठीले १७ रन जोडे। प्रज्वल थापाले १५ रन बनाउँदा विशाल भुषाल ८ रनमा अविजित रहे।
प्रदेश १ का लागि कप्तान दिपेश कडेलले ३ तथा विपीन महतोले १ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको प्रदेश १ ले २६.२ ओभरमा अलआउट हुदै ६९ रन बनाएको थियो।
प्रदेश १ का लागि शुभम गहतराजले २२ तथा स्टाईन रिजालले १९ रन बनाए। प्रदेश १ का अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
त्यस्तै प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो जित हात पारेको छ। पाँचौ खेलमा पहिलो जित हात पार्ने क्रममा गण्डकीले कर्णाली प्रदेशलाई १ सय ९ रनले पराजित गरेको हो।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले जितका लागि दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको कर्णाली ३० ओभरमा अलआउट हुदै १ सय २५ रनमा समेटियो। त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३४ रन बनायो।
प्रतियोगितामा प्रदेश १, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन्।











