मोटोपनको दोहोरो भार
मोटोपन र कुपोषणले न्यून र मध्यम आय भएका देशहरूको विकासमा बाधा पुगेको छ। सुलभ रूपमा स्वस्थ आहार नपाउँदा यस्तो भएको लान्सेटमा प्रकाशित एउटा प्रतिवेदनमा उल्लेख छ।
....मोटोपन र कुपोषणले न्यून र मध्यम आय भएका देशहरूको विकासमा बाधा पुगेको छ। सुलभ रूपमा स्वस्थ आहार नपाउँदा यस्तो भएको लान्सेटमा प्रकाशित एउटा प्रतिवेदनमा उल्लेख छ।
कुपोषणको दुई धारे तरबार वा डिबिएमले (डबल बर्डन अफ मालन्युट्रिसन) न्यून तथा मध्यम आय भएका करिब १३० मध्ये एक तिहाइ देशहरू प्रभावित भएको जर्नलको सो प्रतिवेदनले बताएको छ। चिन्ताको विषय त के छ भने यो एउटै घरपरिवारमा बढ्दै गएको छ। सामान्यतया यस्तो परिवारमा आमा मोटा र सन्तान कुपोषणग्रस्त हुन्छन्।
दुवै प्रकारको कुपोषण स्वास्थ्यसम्बन्धी समस्यासँग जोडिएको छ। उमेर नपुग्दै मृत्यु पनि हुनसक्छ। यसले देशको स्वास्थ्य प्रणाली र श्रमको उत्पादकत्वमा ठूलो प्रभाव पार्दछ। विश्व स्वास्थ्य संगठनको सहकार्यमा तयार गरिएको उक्त प्रतिवेदनले मोटोपनलाई धनी देशको र कुपोषणलाई गरिब देशको समस्या अब मान्न नमिल्ने जनाएको छ।
“कुपोषणका कारण झण्डै १५ करोड बालबालिकाको वृद्धि विकास भएको छैन भने बाल्यकालमा हुने मोटोपन सबैतिर बढिरहेको छ। विश्वमा पाँचमध्ये एक जना वयस्कको मृत्यु (२२ प्रतिशत) पोषिलोको आहारको अभावले हुने गर्दछ,” प्रतिवेदनमा भनिएको छ।
“आउने दशकहरूमा आर्थिक, सामाजिक र वातावरणीय अकर्मण्यताले व्यक्ति, समाजको वृद्धि र विकासमा बाधा पुग्नेछ,” प्रतिवेदनले चेतावनी दिएको छ। गरिब देशजति उच्च डिबिएम अन्यत्र नभएको प्रतिवेदनमा उल्लेख छ। लामो समयदेखि चुनौती बनेको भोकमरीसँगै मोटा मानिसको संख्या तीव्र बढिरहेको छ।
यसले चिनी, नुन र बोसो धेरै भएको सस्ता र सन्तुष्ट बनाउने खाद्य पदार्थको वृद्धितर्फ इङ्गित गरेको छ। साथै घर, काम र यातायातमा शारीरिक गतिविधि ठूलो परिमाणमा घटेको पनि औंल्याएको छ। केही देशमा ३५ प्रतिशत घरधुरीमा डिबिएम प्रमुख रहेको प्रतिवेदनले जनाएको छ। अजरबैजान, ग्वाटेमाला, इजिप्ट, कोमोरोस र साउ तोम एन्ड प्रिन्सिपमा सबैभन्दा उच्च डिबिएम रहेको प्रतिवेदनमा उल्लेख छ।
कहिलेकाँही एउटै सन्तानमा पनि डिबिएम देखिएको छ। पोषणको अभावले त्यस्ता बालबालिकाको शारीरिक तौल बढी भए पनि शारीरिक विकास भने कमजोर हुन्छ। यस्तो अल्बानियामा सबैभन्दा धेरै १५ प्रतिशत छ।
अनुसन्धानका क्रममा करिब सबै देशमा बालबालिकाको शारीरिक वृद्धि कमजोर हुने दर ओरालो लागेको तर झण्डै सबै देशमा महिलाको तौल बढेको देखिएको छ। न्यून तथा मध्यम आय भएका अधिकांश देशको आहार तथा खाना प्रणालीमा भएको तीव्र परिवर्तनलाई प्रतिवेदनले मुख्य कारण मानेको छ।
ताजा खानेकुरा पाइने बजारले अब “टेकअवे” खाना बिक्रेताको स्थान लिँदै गएका छन्। “प्रशोधित खानाको प्रभाव कम गर्न कठिन छ। उदाहरणका लागि ३५५ मिलिलिटर चिनी भएको पेय पदार्थ सेवन गर्दा उपभोक्ताले झण्डै साढे दुई किलोमिटर हिँड्नु पर्छ वा कम्तिमा पनि १५ मिनेट दौडनुपर्छ।”
अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थले गरेको एउटा परीक्षणमा सामान्य तौल भएका वयस्कलाई दुई सातासम्म स्वस्थ आहार सेवन गराउँदा झण्डै एक किलोग्राम तौल घटेको र प्रशोधित आहार ख्वाउँदा त्यत्तिकै मात्रामा तौल बढेको प्रतिवेदनमा उल्लेख छ।
ल्याटिन अमेरिका र क्यारिबियनमा प्रशोधित र प्याकेजिङ गरिएका खाना सन् १९९० देखि दश वर्षभित्र झण्डै ६० प्रतिशत बढेको छ। यसलाई रोक्न ठूलै सामाजिक परिवर्तन आवश्यक हुने प्रतिवेदनले जनाएको छ।
नवजात शिशुलाई खर्च नहुने र पोषिलो स्तनपान गराउन प्रवर्द्धन गराउने लगायत स्वस्थ खानामा सहुलियत, विद्यालयमा पोषिलो खाना र खाद्य शिक्षा दिए प्रगति हुने देखिन्छ।