कतार बन्यो विश्वकपबाट बाहिरिने पहिलो टिम, सेनेगलको आशा कायमै
शुक्रबार राति भएको समूह दोस्रो खेलमा सेनेगलसँग ३–१ले पराजित भएपछि कतार प्रतियोगिताबाट बाहिरिएको हो।
काठमाडौं, मंसिर १० : आयोजक कतार विश्वकपबाट बाहिरिने पहिलो टिम बनेको छ। शुक्रबार राति भएको समूह दोस्रो खेलमा सेनेगलसँग ३–१ले पराजित भएपछि कतार प्रतियोगिताबाट बाहिरिएको हो।
यसअघि ऊ पहिलो उद्घाटन खेलमा इक्वेडरसँग २–०ले पराजित भएको थियो। यता, कतार हराएसँगै नकआउट चरण पुग्ने सेनेगलको आशा भने जीवितै बनेको छ। समूहको अन्तिम खेलमा इक्वेडरलाई हराउन सके सेनेगल नकआउट चरण पुग्ने छ।
अल थुमामा रंगशालमा भएको खेलमा सेनेगललाई जित दिलाउन बोउलाये डियाले ४१औं, फामारा डाइधिउले ४८औं र बाम्बा डियाङले ८४औं मिनेटमा गोल गरे । कतारका लागि मुन्तारीले ७८औं मिनेटमा सान्त्वना गोल गरे । मुन्तारीको गोल विश्वकपमा कतारको पहिलो गोल हो।
आयोजकको रुपमा समूह चरणमा एक भन्दा बढी खेल हार्ने कतार पहिलो आयोजक टोली समेत बनेको छ ।
कतारले अब अन्तिम खेलमा नेदरल्याण्ड्ससँग अन्तिम खेल खेल्ने छ।
प्रकाशित मिति: ०७:२६ बजे, शनिबार, मंसिर १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











