समानुपातिकमा एमाले अगाडि, पछ्याउँदै कांग्रेस, तेस्राेमा स्वतन्त्र पार्टी
समानुपातिकतर्फ एमाले अगाडि देखिएको छ। प्रतिनिधिसभातर्फ बिहीबार दिउँसो साढे २ बजेसम्म एमालेले ७ लाख ७९ हजार ७५५ मत पाएको छ।काठमाडौं, मंसिर ८ : गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी छ। सोमबार थालिएको मतगणनाअनुसार बिहीबार दिउँसो साढे २ बजेसम्म प्रतिनिधिसभाअन्तर्गतका १६५ क्षेत्रमध्ये १६२ स्थानको गणना भइरहेको छ। तीमध्ये आधाभन्दा बढीको नतिजासमेत आइसकेको छ।
हालसम्म ८३ क्षेत्रको नतिजा आउँदा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले अग्रता कायम गरिरहँदा समानुपातिकतर्फ भने नेकपा एमाले अगाडि देखिएको छ। समानुपातिकतर्फ एमाले अगाडि देखिएको छ। प्रतिनिधिसभातर्फ बिहीबार दिउँसो साढे २ बजेसम्म एमालेले ७ लाख ७९ हजार ७५५ मत पाएको छ।
दोस्रो स्थानमा रहेको कांग्रेसले ५ लाख ५१ हजार १८३ मत पाएको छ। तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ। उसले २ लाख ९३ हजार १७८ मत आफ्नो पक्षमा पारिसकेको छ।
चौथौं, पाँचौं र छैटौं स्थानमा क्रमशः रहेका माओवादी केन्द्रले २ लाख ६५ हजार ६१४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ लाख ५९ हजार ६३२ र जनता समाजवादी पार्टी (जसपा) ले ७२ हजार ३२५ मत हासिल गरेका छन्।
सातौं स्थानमा रहेको नेपाल मजदुर किसान पार्टीले ५१ हजार ३५६, आठौं स्थानमा रहेको जनमत पार्टीले ४७ हजार ८९६ र नवौं स्थानमा रहेको नागरिक उन्मुक्ति पार्टीले ३८ हजार ९६९ मत पाएक छन्। दसौं स्थानमा रहेको नेकपा एकीकृत समाजवादीले ३७ हजार ३०५ र अन्यले ५० हजार ३४१ मत बटुलेका छन्। लोसपा, हाम्रो नेपाली पार्टी, राष्ट्रिय जनमोर्चालगायत अन्य दलहरुले २५ हजारभन्दा कम मत पाएका छन्।
प्रदेशसभातर्फ प्रदेश १, वागमती, गण्डकी र लुम्बिनीमा एमाले अगाडि छ भने कांग्रेस मधृस प्रदेशमा मात्र अघि छ। कर्णालीमा नेकपा माओवादी केन्द्रको अग्रता छ। सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी अगाडि छ।
प्रदेश १ मा एमालेले १ लाख १३ हजार ८९६, कांग्रेसले १ लाख ४ हजार ८८, माओवादी केन्द्रले ४३ हजार ४८३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३९ हजार ४४८ र जसपाले १७ हजार ८४३ मत बटुलेका छन्।
मधेस प्रदेशमा कांग्रेसले ३४५८१, एमालेले ३००५०, जनमत पार्टीले २६४०७, जसपाले २४३१८, माओवादी केन्द्रले १४ हजार २८९ मत आफ्नो पक्षमा पारेका छन्।
वाग्मतीमा एमालेले १ लाख १६ हजार ७६३, कांग्रेसले १ लाख ७ हजार २१७, राष्ट्रिय प्रजातन्त्र पार्टीले ८० हजार २०, नेमकिपाले ५४ हजार ५२२ र माओवादी केन्द्रले ४२ हजार ४६९ मत बटुलेका छन्।
गण्डकीमा एमालेले १ लाख २५ हजार १२०, कांग्रेसले १ लाख १२ हजार ९२१, माओवादी केन्द्रले ६५ हजार ६५६ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २१ हजार ४०२ र एकीकृत समाजवादीले ८ हजार १८५ मत ल्याएका छन्।
लुम्बिनीमा एमालेले १ लाख ५४ हजार ३२६, कांग्रेसले १ लाख ३० हजार १५३, माओवादी केन्द्रले ४२ हजार ५९०, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३८ हजार १५ र नागरिक उन्मुक्ति पार्टीले १९ हजार ६६८ मत बटुलेका छन्।
कर्णालीमा माओवादी केन्द्रले ३१ हजार ४५७, एमालेले १४ हजार ९, कांग्रेसले ९ हजार ९१४, एकीकृत समाजवादीले ३ हजार ५७७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ८१२ मत आफ्नो पोल्टामा पारेका छन्।
सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले २ हजार ३३१, एमालेले २ हजार ३०१, कांग्रेसले १ हजार ७०९, माओवादी केन्द्रले १ हजार ५९० र राष्ट्रिय प्रजातन्त्र पार्टीले १३ हजार ५मत बटुलेका छन्।
प्रत्यक्षतर्फ नतिजा आइसकेका ८३ क्षेत्रमध्ये ३० वटामा नेपाली कांग्रेसले बाजी मारेको छ। नेकपा एमालेले १८ स्थानमा जित निकालेको छ।
त्यसैगरी नेकपा माओवादी केन्द्रले ९, नेकपा एकीकृत समाजवादीले ७, राष्ट्रिय स्वतन्त्र पार्टीले ६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) २ स्थानमा विजय हासिल गर्दा जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमतपार्टी र स्वतन्त्रले समान १/१ स्थानमा विजयको झन्डा गाडेका छन्।
मतगणना जारी रहेका क्षेत्रमा कांग्रेस २६, एमाले २५ र वटामा माओवादी केन्द्रले ८ वटामा अग्रता लिइरहेका छन्। त्यसैगरी एकीकृत समाजवादी ३, राष्ट्रिय स्वतन्त्र पार्टी ३ र राष्ट्रिय प्रजातन्त्र पार्टी ३ स्थानमा अगाडि छन्।
जनता समाजवादी पार्टी ६, नागरिक उन्मुक्ति पार्टी १ र लोकतान्त्रिक समाजवादी पार्टी १ स्थानमा जितउन्मुख छन्। स्वतन्त्रतर्फका उम्मेदवारले ४ स्थानमा अग्रता लिइरहेका छन्।
प्रदेशसभातर्फ पनि मतगणना जारी छ। त्यता पनि कांग्रेस अगाडि छ। उसले प्रदेशसभा सदस्यका लागि ६९ वटा स्थानमा जित निकाल्दा ३४ वटामा अग्रता लिइरहेको छ। एमालेले ४५ वटा स्थानमा विजय हासिल गर्दा ४३ वटामा अग्रता लिइरहेको छ।
माओवादी केन्द्रको २८ वटामा जितेर २२ वटा अग्रता लिइरहेको छ। ८ वटामा जितिसकेको एकीकृत समाजवादीले ७ वटामा अग्रता लिइरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ वटामा जित निकाल्दै ६ वटामा अग्रता कायम राखेको छ। जनमत पार्टीले ६ वटामा विजय हासिल गरिसकेको छ। उसले २ स्थानमा अग्रता लिइरहेको छ।
जनता समाजवादी पार्टीले ५ वटामा अग्रता लिइरहँदा ६ वटामा विजय प्राप्त गरिसकेको छ। नागरिक उन्मुक्ति पार्टीले पनि ३ स्थानमा विजयको झन्डा गाडिसक्दा ३ वटामा अग्रता लिइरहेको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ५ वटामा जित निकाल्दै ३ वटामा अग्रता लिइरहेको छ। नेमकिपाले एक स्थानमा जित निकालेको छ।