एमालेबाट कहाँ कसकाे जित?
एमालेले बिहीबार मध्याह्नसम्म १७ स्थानको नतिजा आफ्नो पक्षमा पार्दा २९ ठाउँमा अग्रता लिइरहेको छ।काठमाडाैं, मंसिर ८ : गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना जारी छ। सोमबार थालिएको मतगणना आज चौथो दिनमा आइपुग्दा धेरै क्षेत्रको नतिजासमेत आइसकेको छ।
प्रतिनिधिसभातर्फ १६२ स्थानको मतगणना भइरहँदा कांग्रेसले २९ स्थानमा जित निकालेर २५ स्थानमा अग्रता कायम गरिरहँदा एमालेले उसलाई पछ्याइरहेका छ। एमालेले बिहीबार दिउँसाे साढे १ बजेसम्म १७ स्थानको नतिजा आफ्नो पक्षमा पार्दा २९ ठाउँमा अग्रता लिइरहेको छ।
दुईपटक प्रधानमन्त्री भइसकेका एमाले अध्यक्ष केपी ओलीले झापा ५ बाट ५२ हजार ३१९ मत ल्याएर विजयी हुँदा उनलाई पछ्याएका कांग्रेसका खगेन्द्र अधिकारी २३ हजार ७८१ मतमै सीमित भए। एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले लमजुङबाट जित निकाल्दा माओवादी केन्द्रका सचिव देवप्रसाद गुरुङका लागि संसद प्रवेशको ढोका बन्द भयो। पृथ्वी सुब्बाले ३४ हजार ९६९ मत आफ्नो पोलटामा पार्दा देवप्रसाद ३१ हजार ७८१ मतमै चित्त बुझाउन बाध्य भए।
एमाले सचिव योगेश भट्टराई २१ हजार ९४३ ल्याई झिनो मतले मात्र विजयी हुँदा उनका मुख्य प्रतिस्पर्धी माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्री १९० मत कम हुँदा पराजित बने। बुडाक्षेत्रीले २१ हजार ७५३ मत ल्याए। एमालेका अर्का सचिव गोकर्ण विष्टले गुल्मी २ बाट २८ हजार ४७६ मत बटुलेर विजय हासिल गर्दा नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्री २६ हजार ४४१ मतका साथ दोस्रो स्थानमा रहिन्।
एमाले नेता सूर्य थापा प्युठानबाट जित निकालेर पहिलोपटक संसद प्रवेशको ढोका खोल्दा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलका लागि यो चुनाव निराशाजनक बन्न पुग्यो। थापाले ४१ हजार ११८ मत ल्याउँदा पौडेल ३५ हजार ८४४ मतमै रोकिइन्। पर्वत १ बाट पदम गिरीले २९ हजार ८७२ मत ल्याएर विजयी भए। उनीसँग कांग्रेसका अर्जुनप्रसाद जोशी पराजित भएका थिए। जोशीले २७ हजार ६०९ मत ल्याए।
मकवानपुर २ बाट महेशकुमार बर्तौला ३४ हजार ९१६ मतका साथ विजयी हुँदा उनका पछिपछि रहेका एकीकृत समाजवादीका विरोध खतिवडा ३० हजार ३९६ मतमा रोकिन पुगे। झापा २ मा एमालेका देवराज घिमिरेले विजयको झन्डा गाड्दा स्वागत नेपाल नामले पनि परिचित स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल २५ हजार ४८३ मत बटुल्न सफल भए।
माओवादी केन्द्रबाट एमालेमा गएका टोपबहादुर रायमाझी कांग्रेस नेत्री पुष्पा भुसाललाई रोक्दै अर्घाखाँची १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले ४२ हजार ६७५ मत ल्याए भने भुसालले ४० हजार ९४५ मत प्राप्त गरिन्। काठमाडौंका १० क्षेत्रमध्ये एउटा मात्र एमालेको पक्षमा परेको छ। उक्त क्षेत्र काठमाडौं ९ हो। त्यहाँ कृष्णगोपाल श्रेष्ठ ११ हजार ९५६ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे।
एमालेका मानवीर राईले १९ हजार ३२४ मतका साथ सोलेखुम्बु १ मा जित निकाल्दा कांग्रेस नेता बलबहादुर केसी १६ हजार ५४५ मतमै सीमित बने। उदयपुर २ बाट अम्बरबहादुर रायमाझीले एकीकृत समाजवादीका सचिव एवं प्रवक्तासमेत रहेका जगन्नाथ खतिवडालाई रोकिदिए। रायमाझीले १५ हजार २५१ मत आफ्नो पक्षमा पार्दा खतिवटा १२ हजार ८९३ रोकिन विवश भए।
मतगणनाको सुरुआती चरणमा पछि पर्दै आएकी विद्या भट्टराई अन्ततः जित निकाल्न सफल भएकी छन्। २०७४ मा कास्की २ बाट चुनाव जितेका आफ्ना पति रवीन्द्र अधिकारीको पर्यटनमन्त्री रहेकै अवस्थामा हेलिकप्टर दुर्घटनामा निधन भएपछि सोही क्षेत्रमा उपचुनाव जितेर चर्चामा आएकी विद्याले यो चुनावमा पनि बाजी मारेकी हुन्। उनलाई चुनौती दिने राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले अन्ततः १२ हजार ४९५ मतमै चित्त बुझाउनुपर्यो। विद्याले भने जितका लागि १६ हजार ९९८ मत बटुलिन्।
रुपन्देही ५ मा एमालेका वासुदेव घिमिरेले ३६ हजार ८२२ मतका साथ विजयको दैलो उघार्दा उनलाई टक्कर दिइरहेका कांग्रेस नेता भरतकुमार शाह २७ हजार १२० मतमै रोकिए। ललितपुर २ मा प्रेमबहादुर महर्जनले यो चुनावमा एमालेबाट पहिलो जित निकालेका थिए। उनले हाम्रो नेपाली पार्टीका सुदिन शाक्यलाई हराए। महर्जनले १५ हजार २५ मत हासिल गर्दा शाक्यको पक्षमा ८ हजार ८८६ मत परेको छ।
पर्सा ३ बाट राजकुमार गुप्ताले एमालेकै पक्षमा जित दर्ता गराए। जितका लागि २४ हजार २६२ मत संकलन गरेका गुप्ताका पछिपछि रहेर कडा टक्कर दिइरहेका कांग्रेस नेता सुरेन्द्रकुमार चौधरी एकदमै थोरै मतले पछि परे। १५१ मत कम आउँदा चौधरी जितबाट वसञ्चत बने।
एमालेका उम्मेदवार लालप्रसाद (एलपी) साँवा लिम्बूले झापा ४ बाट जित दोहोर्याएका छन्। २०७४ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनी यसपटक २९ हजार ३१५ मतका साथ निर्वाचित भएका छन्। उनका मुख्य प्रतिस्पर्धी रहेका नेपाली कांग्रेसका देउमान थेबेले २२ हजार ४४८ मत ल्याए।