विश्वकप २०२२ : जर्मनीमाथि जापानको अप्रत्याशित जित
खलिफा इन्टरनेशनल रंगशालामा भएको खेलमा जर्मनी जापानसँग २–१ले पराजित भयो।
काठमाडौं, मंसिर ७ : कतारमा जारी २२औं संस्करणमा अर्को अप्रत्यासित नतिजा आएको छ। बुधबार भएको समूह चरणको खेलमा चारपटकको च्याम्पियन अप्रत्यासित रुपमा पराजित भएको छ ।
खलिफा इन्टरनेशनल रंगशालामा भएको खेलमा जर्मनी जापानसँग २–१ले पराजित भयो। जापानले जर्मनीमाथि १ गोलले पछि परेको अवस्था उल्टाउँदै जित निकालेको हो।
खेलमा जापानका लागि रिट्सु डोअन र टाकुमी असानोले गोल गर्दा जर्मनीका इल्केइ गुन्डोगानले गोल गरेका थिए।
३३औं मिनेटमा पेनाल्टीमा गोल गर्दै गुन्डोगानले जर्मनीलाई अग्रता दिलाए। पहिलो हाफमा बलियो जर्मनीविरुद्ध १–०ले पछि परेको जापानले दोस्रो हाफमा उत्कृष्ट खेल खेल्यो ।
उसका रिट्सु डोनअले गोल गर्दै जापानलाई खेलमा फर्काए । उनले मिनामिनोको प्रहार जर्मनीका किपर इमानुअल नुयरले रोकेपछि डिफ्लेटमा गोल गरेका थिए।
८३औं मिनेटमा असानोको उत्कृष्ट पासमा जापानले खेलमा अग्रता लियो। उनले इटाकुराले फ्रिकिकमा दिएको लामो पासलाई सदुयोग गर्दै गोल गरेका थिए।
विश्वकपमा जर्मनी पहिलो हाफमा अग्रता लिएर १९७८ पछि पहिलो पटक पराजित भएको हो । त्यसपछि पहिलो हाफमा अग्रता लिएको २१ खेलमा जर्मनी अपराजित थियो।











