आगलागी हुँदा विदेशमा भएका कारण प्रधानमन्त्रीले मागे माफी
क्यानबेरा, पुस ४ : अट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा आगलागीको घटना भइरहेको वेला आफू पारिवारिक भ्रमणमा विदेशमा रहेकोमा माफी मागेका छन्।
....
क्यानबेरा, पुस ४ : अट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा आगलागीको घटना भइरहेको वेला आफू पारिवारिक भ्रमणमा विदेशमा रहेकोमा माफी मागेका छन्।
प्रधानमन्त्री मोसिनले आज बिहान प्रेस वक्तव्य जारी गरि आफू भ्रमण रद्ध गरेर स्वदेश फर्किन लागेको बताएका छन्। देशमा आगलागीको घटना भइरहेका बेला प्रधानमन्त्री भने पारिवारिक भ्रमणमा रहेको भन्दै आलोचना भएपछि उनले माफी मागेका हुन्।
अष्ट्रेलियाको न्यु साउथ वेल्समा आगलागी जारी रहेको र नियन्त्रणको प्रयास असफल भइरहेको अधिकारीहरुले जनाएका छन्।
राजधानी सिड्नीमा रहेको प्रधानमन्त्री निवासअगाडी प्रदर्शनकारीले बिहीबार प्रधानमन्त्री विरुद्ध प्रदर्शन गरेका थिए।उनीहरुले जलवायु परिवर्तनबारे तत्काल कदम चाल्न प्रधानमन्त्री मोरिसनलाई आग्रह पनि गरेको स्थानीय सञ्चार माध्यम ‘स्पेशल ब्रोडकास्टीङ सर्भिस (एसबीएस)’ले उल्लेख गरेको छ।
अष्ट्रेलियामा प्रधानमन्त्रीले जनवरीमा बिदा लिने प्रचलन रहेकोमा यस पटक उनले डिसेम्बरमा बिदा लिएका हुन्। जनवरीमा जापान र भारतको भ्रमण गर्ने तालिका रहेकाले डिसेम्बरमै बिदा लिएको मोरिसनले बताए।
‘मैले गहिरो पश्चाताप व्यक्त गर्दै माफी माग्न चाहन्छु, देशमा ठूलो आगलागीको घटना भइरहेको अवस्थामा म पारिवारिक भ्रमणमा रहेँ,’ उनले भनेका छन्।
उनले आगलागी र त्यसको नियन्त्रण तथा घाइतेहरुको उपचारका लागि भइरहेको प्रयाससम्बन्धी जानकारी आफु नियमित रुपमा लिइरहेको बताएका छन्।
अष्ट्रेलियाका ठाउँ ठाउँमा लागेको आगो निभाउनका लागि अग्निनियन्त्रकहरू परिचालित भएका छन्। देशका कम्तीमा एक सयभन्दा बढी ठाउँमा फैलिएका डढेलो निभाउन उनीहरुले संघर्ष गरिरहेका अधिकारीहरुले जनाएका छन्। सिड्नीको दक्षिणपश्चिममा डढेलो नियन्त्रणका लागि खटिएका दुई अग्निनियन्त्रकको मृत्यु भइसकेको छ।
सेप्टेम्बरदेखि हालसम्म यी डढेलोका कारण अष्ट्रेलियामा आठ जनाको ज्यान गइसकेको छ भने सात सयभन्दा धेरै घर नष्ट भएका छन्। दशौँ लाख हेक्टर जमिन आगोको चपेटामा परेको छ।
सबैभन्दा धेरै गर्मी भएको दुई दिनको कीर्तिमानी रेकर्ड बनाएकै बेला अष्ट्रेलियामा आगलागी भएको हो। सिड्नीमा तापक्रम अहिलेसम्मकै सबैभन्दा बढी ४७ डिग्री सेल्सीयससम्म पुग्न सक्ने अनुमान गरिएको छ। (सिन्ह्वा)












