विश्व फुटबलको महाकुम्भ मेला आजदेखि, उद्घाटनमा कतार र इक्वेडर भिड्दै
उद्घाटन खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ । कतार विश्वकपमा ३२ राष्ट्र सहभागी हुने अन्तिम विश्वकप हुनेछ ।
काठमाडौं, मंसिर ४ : फुटबलको महाकुम्भ मेला विश्वकप आजदेखि कतारमा सुरु हुँदैछ । आयोजक राष्ट्र कतारले आइतबार इक्वेडरसँग खेलेलगत्तै विश्वकपको २२ औँ संस्करण सुरु हुनेछ ।
उद्घाटन खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ । कतार विश्वकपमा ३२ राष्ट्र सहभागी हुने अन्तिम विश्वकप हुनेछ । अमेरिका र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने विश्वकपको अर्को संस्करणमा ४८ राष्ट्रको सहभागिता रहने भएको छ ।
३२ टिमले २९ दिनमा कुल ६४ खेल खेल्नेछन् । यस संस्करणलाई यस पुस्ताका दुई सर्वश्रेष्ठ खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीको अन्तिम विश्वकपका रूपमा पनि लिइएको छ ।
विश्वकपको मञ्चमा हुने श्रेष्ठताको लडाइँमा यसपालि ब्राजिल र अर्जेन्टिनालाई प्रमुख उपाधि दाबेदारका रूपमा लिइएको छ । त्यसपछि फ्रान्स, इङ्ग्ल्यान्ड र स्पेनलाई पनि विश्वकप जित्न सक्ने टिमका रूपमा आकलन गरिएको छ ।











