Kathmandu Press

ब्राजिलले विश्वकप जित्ने अक्सफोर्डको भविष्यवाणी (भिडियाेसहित)

अक्सफोर्ड युनिभर्सिटीले कतार विश्वकपको भविष्यवाणी गरेको छ। कतारमा ब्राजिल च्याम्पियन बन्ने भविष्यवाणी अक्सफोर्डले गरेको छ। 

काठमाडाैं, मंसिर ३ : विश्वकप फुटबल २२औं संस्करण कतारमा भोलिबाट सुरु हुँदैछ। विश्वकपमा छनोट भएका ३२ वटै देशका टिम अहिले अन्तिम तयारीमा छन्। 

पहिलोपटक मध्यपूर्वी एसियामा आयोजना हुन गइरहेको विश्वकपको उपाधि ब्राजिल, अर्जेन्टिना र फ्रान्समध्ये एकले जित्ने धेरैको भविष्यवाणी छ। 

यही बीचमा अक्सफोर्ड युनिभर्सिटीले भने कतार विश्वकपको भविष्यवाणी गरेको छ। कतारमा ब्राजिल च्याम्पियन बन्ने भविष्यवाणी अक्सफोर्डले गरेको छ। 

गणितज्ञ जोशुवा बुलले गरेको सन् २०१८ पछिको सम्पूर्ण तथ्यहरूको अध्ययनको आधारमा अक्सफोर्डले यस्तो भविष्यवाणी गरेको हो। फाइनलमा ब्राजिलले बेल्जियमलाई हराउने पनि अक्सफोर्डले जनाएको छ। उपाधि जित्न ब्राजिललको सम्भावना ६१.३ प्रतिशत रहेको उसले जनाएको छ।

अक्सफोर्डको यो भविष्यवाणी सही बने ब्राजिलले २ दशक लामो उपाधिको खडेरी तोड्नेछ। उसले सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेको विश्वकप जितेको थियो।

Fh16Zq5XoAEPX171668858713.jpg

यस्तै, अक्सफोर्डले सेमिफाइनलमा ब्राजिलले लियोनल मेसीको टिम अर्जेन्टिनासँग खेल्ने बताएको छ। अर्को सेमिफाइलनमा बेल्जियम र फ्रान्स भिड्नेछन्। 

क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल, इंग्ल्यान्ड, नेदरल्यान्ड्स र स्पेन क्वार्टरफाइलसम्म पुग्ने अक्सफोर्डको भविष्यवाणी छ। क्वार्टरफाइनलमा नदरल्यान्ड्स अर्जेन्टिनासँग, स्पेन ब्राजिलसँग, पोर्चुगल बेल्जियमसँग र इंग्ल्यान्ड फ्रान्ससँग पराजित हुने उसको भविष्यवाणी छ ।

समूह चरणबाट नेदरल्यान्ड्स, इंग्ल्यान्ड, अर्जेन्टिना, फ्रान्स, स्पेन, बेल्जियम, ब्राजिल र पोर्चुगल विजेताका रुपमा नकआउट चरण पुग्दा मेक्सिको, डेनमार्क, जर्मनी, क्रोएसिया, स्वीट्जरल्यान्ड, उरुग्वे र एसियन  मुलुक इरान उपविजेताका रुपमा नकआउट चरण पुग्ने अक्सफोर्डको भविष्यवाणी छ।


 

प्रकाशित मिति: १७:४१ बजे, शनिबार, मंसिर ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्