एकदिवसीय क्रिकेट : सिरिज जित्न नेपाललाई १७७ रनको लक्ष्य
३० औं ओभरसम्म कमजोर देखिएको युएइलाई खेलमा फर्काउन आयान अफ्जल खान र हजराल बिलालको साझेदारी महत्वपूर्ण रह्याे।
काठमाडौं, मंसिर २ : युएईविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा नेपालले जितका लागि १७७ रनको लक्ष्य पाएको छ । शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी तेस्रो एकदिवसीय क्रिकेटमा पहिलो ब्याटिङ गरेको युएइले निर्धारित ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा १७६ रनको योगफल बनाएको हो ।
३० औं ओभरसम्म कमजोर देखिएको युएइलाई खेलमा फर्काउन आयान अफ्जल खान र हजराल बिलालको साझेदारीले महत्वपूर्ण भूमिका खेल्यो । खान र बिलालले ८३ रनको साझेदारी गरे । खानले ६३ बलमा ५३ रन प्रहार गर्दै व्यक्तिगत अर्धशतक पूरा गरे भने बिलालले २० रन बनाएर खानलाई उत्कृष्ठ साथ दिए ।
त्यस्तै ६९ बल खेलेका अलिसान सर्राफुले ३३ रन बनाए । रोहन मुस्ताफाले २४ र मोहम्मद वासिमले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि गुल्सन झा, दिपेन्द्र सिं ऐरि र कुशल भुर्तेलले दुई/दुई विकेट लिए भने सोमपाल कामी, ललित राजवंशीले एक/एक विकेट लिए । यसअघिका दुई खेलमा नेपाल र युएईले एकएक खेल जितेका छन् ।











