६ वर्षमा करिब नौ हजारको मृत्यु
काठमाडौं, माघ २९ : नेपालमा सडक दुर्घटनाबाट ६ वर्षमा करिब नौ हजार व्यक्तिको मृत्यु भएको तथ्यांक प्रतिनिधिसभामा प्रस्तुत गरिएको छ ।
कांग्रेस स....

काठमाडौं, माघ २९ : नेपालमा सडक दुर्घटनाबाट ६ वर्षमा करिब नौ हजार व्यक्तिको मृत्यु भएको तथ्यांक प्रतिनिधिसभामा प्रस्तुत गरिएको छ ।
कांग्रेस सांसद् डिला संग्रौलाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै भनिन्, “प्रहरीको तथ्यांकअनुसार, ०६९/७० देखि ०७४/७५ सम्ममा ४० हजार सात सय ७७ दुर्घटनामा आठ हजार नौ सय ८२ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार, सडक दुर्घटनामा परी दैनिक १३ जनाको मृत्यु हुने गरेको छ । यसलाई रोक्न सरकारको तर्फबाट कुनै पहल भएको छैन ।”
प्रत्येक वर्ष करिब दुई हजार जनाको ज्यान जाने गरेको सडक दुर्घटनामा धेरैजसो युवा पर्ने गरेको भए पनि सबै उमेर समूहका मानिस शिकार हुने गरेका छन् । “यातायात र सडकको विस्तारसँगै दुर्घटना र यसबाट हुने क्षति पनि चाँडै नै दोब्बर हुने देखिन्छ,” उनले भनिन्, “गत ६ महिनामा यसरी मृत्यु हुनेको संख्या एक हजार चार सय पुगिसकेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतले बढी हो ।”
करिब एक लाख सवारी साधन हुँदा तर्जुमा गरेका ऐनकानूनले अहिलेको यातायात क्षेत्रलाई व्यवस्थापन गर्न नसक्ने भन्दै उनले भनिन्, “२६ वर्षअघिको ऐन, २१ वर्ष पुरानो नियमावली छ । यो समय सापक्ष छैन ।”
संग्रौलाले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा भनिएको छ, ‘नेपालमा सडक दुर्घटनामा परेर मृत्यु वा घाइते हुनेको तथ्यांक पछिल्लो पाँच वर्षमा भयावह रुपमा बढिरहेकोले दुर्घटना रोक्न कदम चाल्नुपर्ने, साथै करिव २६ वर्ष अघि बनाइएको सवारी तथा यातायात व्यवस्था ऐन र २० वर्ष अघिको सवारी तथा यातायात व्यवस्था नियमावलीका आधारमा यातायात व्यवस्थापन भइरहेको अवस्थामा सडक सुरक्षाको व्यवस्थापन, शिक्षा र सचेतनामार्फत सडक प्रयोगकर्तालाई सुरक्षित बनाइ राष्ट्रसंघीय दिगो विकास लक्ष्यले तोकेको २०२० भित्र सडकजन्य दुर्घटनामा परेर ज्यान गुमाउने र घाइते हुनेहरुको संख्या घटाउन राष्ट्रिय सडक सुरक्षा कार्ययोजना २०१३–२० कार्यान्वयन गरियोस् ।’ प्रस्तावमा सरकारका मन्त्रीले जवाफ दिनुपर्ने छ ।
छलफलमा भाग लिँदै नेकपाका सांसद् नवराज सिलवालले संसारमा एक वर्षमा १२ लाख २५ हजार मान्छे मरेको उल्लेख गर्दै भने, “नेपालमा भर्खर बनेका र पुराना समेत गरेर ३० हजार किलोमीटर सडकमा ३२ लाख सवारीसाधन गुडिरहेको छन् । गत वर्षमात्र चार लाख सवारी साधन आयात भएका छन् । भेहिकलको क्वालिटी छैन । रक्सी खाएर र तीव्र गतिमा सवारी हाँकेका कारण दुर्घटना हुने गरेको छ । योग्य भएपछि विदेश जाने गरेका छन् । यसलाई सम्बोधन गर्न ढिला गर्न हुँदैन । नेपालका सडक खत्तम छन् । सही इञ्जिनीयरिङबीनै गाउँगाउँमा डोजरले सडक खनेका कारण पनि बढी सडक दुर्घटना हुने गरेका छन् ।” उनले सार्वजनिक महत्वको प्रस्ताव समय सापेक्ष रहेको बताए











