सबैभन्दा धेरै पत्रकार चीनमा बन्दी
कम्तिमा पनि २५० जना पत्रकार विश्वभरिका जेलमा बन्दी छन्। तिमध्ये धेरै जसो चीनका जेलमा छन्।
अधिनायकवादी शासनले स्वतन्त्र मिडियामाथि अंकुश लगाउने कार्य बढ्दै गए....
कम्तिमा पनि २५० जना पत्रकार विश्वभरिका जेलमा बन्दी छन्। तिमध्ये धेरै जसो चीनका जेलमा छन्।
अधिनायकवादी शासनले स्वतन्त्र मिडियामाथि अंकुश लगाउने कार्य बढ्दै गएको छ।न्यूयोर्कस्थित कमिटी टु प्रोटेक्ट जर्नालिस्टस (सिपिजे) को प्रतिवेदन अनुसार कैद गरिएका धेरै पत्रकारलाई “राज्य विरोधी” अभियोग वा “गलत समाचार” उत्पादन गरेको आरोप छ।
टर्की, साउदी अरब, इजिप्ट, भियतनाम र इरानमा पनि पत्रकारलाई थुनिएको सिपिजेको प्रतिवेदनमा उल्लेख छ।
सिपिजेको प्रतिवेदन अनुसार चीनमा कम्तिमा ४८ जना पत्रकार बन्दी छन्। सन् २०१८ को तुलनामा यो एक जना बढी हो। राष्ट्रपति सी चिनफिङ मिडिया नियन्त्रण गर्न लागि परेकै देखिन्छन्। तर बेइजिङले स्वतन्त्रता हनन नभएको बताएको छ। चिनियाँ सरकारले विधिको शासनलाई कार्यान्वयन गरिरहेको दाबी गरेको छ।
“कानूनभन्दा माथि कोही हुँदैन,” विदेश मन्त्रालयका प्रवक्ता ह्वा चुन्यिङले भनिन्।
टर्कीमा अघिल्लो वर्ष ६८ जना पत्रकारलाई जेल हालिएको थियो। यसपालि ४७ जना पत्रकारलाई जेलमा थुनिएको छ। यसलाई सुधार मान्न नसकिए पनि स्वतन्त्र रिपोर्टिङ र आलोचनालाई कमजोर बनाउने राष्ट्रपति रेसिप ताय्यिप एर्दोगानको सरकारको सफल प्रयासको प्रतिबिम्ब भएको प्रतिवेदनमा बताइएको छ।
टर्की सरकारले सयभन्दा धेरै समाचार संस्था बन्द गरेको र त्यहाँ कार्यरत धेरै कर्मचारीविरूद्ध आतंक सम्बन्धी अभियोग लगाएको सिपिजेले बताएको छ। यसबाट धेरै संवाददाताहरू बेरोजगार भएको र अन्यलाई त्रास सिर्जना गरेको सिपिजेको भनाइ छ।
“टर्कीमा अहिले जेल नहालिएका दर्जनौं पत्रकारले सुनुवाइ वा अपिल पर्खिरहेका छन्। उनीहरूलाई जेल सजाय हुनसक्छ।अन्यलाई अनुपस्थितिमा जेल सजाय सुनाइएको छ। देश फर्किए उनीहरू गिरफ्तार हुनसक्छन्,” सिपिजेले भनेको छ।
मध्यपूर्वमा अधिनायकवाद, अस्थिरता र विरोधकै कारण त्यहाँ पत्रकारहरू थुनिने क्रममा वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ। साउदी अरब र इजिप्ट सबैभन्दा धेरै पत्रकार गिरफ्तार गरिएका तेस्रो देश हुन्। दुवै देशमा २६ जना पत्रकार बन्दी छन्।
साउदी अरबमा थुनिएका १८ जना पत्रकार विरूद्ध कुनै अभियोग खुलाइएको छैन। चार पत्रकार लगायत राजनीतिक बन्दीलाई कुटपिट गर्ने, जलाउने र भोकै राख्ने गरेको समाचार बाहिर आएपछि सिपिजेले चिन्ता व्यक्त गरेको छ।
इजिप्टमा सेप्टेम्बरमा भ्रष्टाचारविरूद्ध विरोध प्रदर्शन भएको थियो। राष्ट्रपति अब्दल फत्तेह ए सिसिको राजीनामा पनि मागिएको थियो। त्यसअघि थुप्रै पत्रकार गिरफ्तार भए। विश्वभरि २५० जना पत्रकार गिरफ्तार हुनु चिन्ताजनक भएको अभियन्ताहरूले बताएका छन्। सन् २०१८ मा यो संख्या २५५ र सन् २०१६ मा २७३ थियो।
“सिपिजे पत्रकारिता गरेकैले पत्रकारलाई गिरफ्तार गर्नुहुँदैन भन्ने विश्वास गर्दछ,” प्रतिवेदनमा भनिएको छ।
अक्टोबरमा स्वतन्त्र चिनियाँ पत्रकार सोफिया ह्वाङ सिकिनलाई हङकङमा भइरहेको विरोध प्रदर्शनबारे लेखेकैले गिरफ्तार गरिएको घटनालाई प्रतिवेदनमा उद्धृत गरिएको छ।
त्यसैगरी, इन्धनको मुल्यवृद्धि विरूद्धको समाचार दबाउन इन्टरनेट बन्द गरिएको घटनाबारे ट्वीट गरेकैले इरानको अर्थतन्त्र संवाददाता मोहम्मद मोसादलाई गिरफ्तार गरिएको घटना पनि प्रतिवेदनमा प्रकाश पारिएको छ।
गलत समचार उत्पादन गरेको अभियोग पक्राउ परेका पत्रकारको संख्या ३० पुगेको छ। अघिल्लो वर्ष २८ थियो। यो अभियोग इजिप्टमा सबैभन्दा धेरै लगाइएको छ।इजिप्टजस्तै रूस र सिंगापुरका पत्रकारलाई पनि यो अभियोग लगाउने क्रम बढ्दो छ।