घरटहरा भत्काउने सूचना स्थगित नगरे जुनसुकै हद पार गर्ने सुकुम्बासीको चेतावनी (पत्रसहित)
सुकुम्बासी मोर्चाले अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिलाई ४ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ।
काठमाडौं, कात्तिक २९ : संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिलाई विभिन्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।
समितिले १० दिनभित्र वागमती कोरिडोरका सुकुम्बासीलाई घर टहरा हटाउन १० दिनको म्याद दिँदै सूचना जारी गरेपछि आन्दोलनमा उत्रिएको मोर्चाले मंगलबार समितिका निर्देशक सुवास बस्नेतलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्रमा दशकौंदेखि बसी आएका भूमिहीन सुकुम्बासीलाई घरवारविहीन बनाउन खोजिएको भन्दै सूचनाको घोर भर्त्सना गरिएको छ । मोर्चाले भूमिहीन सुकम्वासीहरुको व्यवस्थापन गर्न जिल्ला तहसम्मै भूमि आयोग गठन भएको र काठमाडौं महानगरपालिकाले आयोगसँग सहमति गरी ३५ दिने सूचना प्रकाशित गरेको अवस्थामा समितिले १० दिने सूचना निकाल्नुलाई गैरजिम्मेवारपूर्ण हर्कत भनेको छ ।
मोर्चाले बागमती सभ्यता, शहरी विकास मन्त्रालय र सुकुम्बासी मोर्चाबीच पटकपटकको छलफलमा विकल्पविन उठिबास नगर्ने सहमति भई व्यवस्थापन समिति समेत बनेका पनि अवगत गराएको छ । ‘यसरी सहमति र सहकार्य अगाडि बढी रहँदा निकालेको सूचना मानवअधिकार, वालअधिकार, ज्येष्ठ नागरिक हक अधिकार र संविधानको विरुद्धमा छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।
मोर्चाले देश निर्वाचनमा होमिरहँदा सुकुम्बासीको बास भत्काउने कुचेष्टा सहित आएको सूचना कुनैपनि हिसाबले न्यायसंगत नरहेको ठहर गरेको छ । ‘तसर्थ सुकुम्बासी तथा अव्यवस्थित वसोवासीहरु आफ्नो घर टहरा बचाउन र अधिकारको सुनिश्चिताका लागि जुनसुकै हद पार गर्न तयार रहेको कुरा जानकार गराउँदै त्यसबाट हुन जाने सम्पूर्ण क्षतिको जवाफदेही वाग्मती सभ्यता हुनेछ,’ पत्रमा उल्लेख गरिएको छ ।
मोर्चाले विना विकल्प उठीबास गर्न नपाउने, राज्यको सम्बन्धित निकायबीच समन्वय गरी भूमि आयोगको कार्यलाई प्रभाव पार्न नपाइने, घर टहरा भत्काउने सूचना तुरुन्त बन्द गरिनुपर्ने र लालपुर्जा सहित भू–स्वामित्वको ज्ञारेन्टी गरिनुपर्ने लगायतका चार बुँदे माग राखेको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै समितिका निर्देशक सुवास बस्नेतले वागमती मिचेर बनाइएका सुकुम्बासी घर टहरा भत्काउने निर्णय कार्यसमितिको बोर्डबाटै भएको जानकारी दिए । उनले ध्यानाकर्षण पत्र कार्यसमितिमा बुझाएर त्यसबारेमा मोर्चालाई जानकारी गराउने प्रतिवद्धता व्यक्त गरे ।
सम्बन्धित समाचार
वाग्मती सभ्यताको कार्यालय परिसरमा सुकुम्वासीको प्रदर्शन (तस्बिरहरू)











