राष्ट्रिय ध्वजाबाहकको चैत दोस्रो सातादेखि काठमाडौं-ओसाका उडान
काठमाडौं, माघ २९ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले चैत दोस्रो सातादेखि जापानको ओसाका उडान गर्ने भएको छ ।
निगमलाई जापानले चैत दोस्र....
काठमाडौं, माघ २९ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले चैत दोस्रो सातादेखि जापानको ओसाका उडान गर्ने भएको छ ।
निगमलाई जापानले चैत दोस्रो सातासम्ममा उडान अनुमति दिने संकेत दिएको छ । जहाज अभावका कारण सन् २००७ यता निगमको जापान उडान रोकिएको थियो । गत साता नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उडान अनुमति (एओसी) दिएको थियो ।
निगम स्रोतका अनुसार जापान नागरिक उड्डयन र जापानको ओसाका विमानस्थल कार्यालयले मार्चको अन्तिमबाट उडान भर्ने गरि स्वीकृत दिएको छ । “मार्चको अन्तिमबाट उडान भर्ने गरि अनुमति दिएको छ, निगमले पहिलो उडान भर्ने दिन फाइनल गरेको छैन,” निगमका एक उच्च अधिकारीले भने ।
निगमले खरिद गरेका दुइटा एयरबस ३३०–२०० वाइडबडी सिरिजका जहाजसँगै जापान उडानको बाटो खुल्न लागेको हो । निगमले सन् १९९४ देखि सन् २००७ सम्म साताका दुई उडान गरेको थियो । जहाज अभाव हुँदै गएपछि आकर्षक मानिएको जापानको गन्तव्य निगमले गुमाएको थियो । विगतमा निगमले हाल रहेको बोइङ ७५७ सिरिजको न्यारोबडी जहाजमार्फत ओसाका उडान भर्दै आएको थियो ।
नयाँ वाइडबडी जहाजसँगै निगमले जापानको ओसाकामा सातामा तीन उडान भर्ने गरि प्रक्रिया अन्तिम चरणमा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले जानकारी दिएका छन् । “जापान उडान लगत्तै चीनमा उडान थाल्ने छौ,” मन्त्री अधिकारीले भने ।
नेपाल र जापानबीच २५ वर्षपछि हवाई सेवा सम्झौता (एएसए) गत असारमा पुनारावोलकन भएको थियो । हवाई सम्झौतासँगै नेपाल र जापानबीच अब सातामा १४ वटासम्म उडान गर्न पाउने सहमति छ । यसअघि सातामा दुइटा मात्रै उडान गर्न पाउने सम्झौता थियो ।
नयाँ सम्झौतामा जापानको हनेडा विमानस्थलबाहेक सबै विमानस्थलमा उडान गर्न पाइने छ । सोही अनुसार निगमले जापानको नारिता विमानस्थलमा समेत उडान भर्ने गरि तयारी भएको निगमले जनाएको छ ।
वर्षेनी हजारौं विद्यार्थी तथा कामदार जापान जाने गरेका छन् । हाल एक लाखभन्दा बढी नेपाली जापानमा रहेको अनुमान छ भने जापानसँग सिधा हवाई उडान नहुँदा नेपाल आउने जापानी पर्यटकको संख्या समेत बढ्न सकेको छैन ।
नेपालमा जापानबाट सिधा उडान हुन नसक्दा जापानबाट नेपाल आउने पर्यटन संख्या प्रत्येक वर्ष घट्दै गएको छ । सन् २००३ मा निगमले काठमाडौं–ओसाका उडान गर्दा २७ हजार चार सय १२ पर्यटक नेपाल भित्रिएकोमा सन् २०१७ मा पनि २७ हजार तीन सय २६ जापानी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
१५ वर्ष अगाडी नेपाल आउने पर्यटकमध्ये जापानी पर्यटकको हिस्सा ८.१ प्रतिशत रहेकोमा सन् २०१७ सम्म आइपुग्दा उक्त हिस्सा घटेर २.८ प्रतिशतमा झरेको छ ।
अहिले निगमले दुइटा वाइडबडी, दुइटा एयरबस ३२० सिरिजका न्यारोबडी जहाज र एउटा बोइङ ७५७ सिरिजको न्यारोबडी जहाजमार्फत नौ अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको छ ।






