कास्की २ मा विद्या भट्टराई कति सुरक्षित ?
उनका मुख्य प्रतिस्पर्धीका रूपमा एमालेका पूर्वनेता श्रीनाथ बराल छन्। एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीमा लागेका नेता बराललाई सत्ता पक्षीय गठबन्धनको समर्थन छ। त्यहाँ पूर्वसहकर्मीबीचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ।काठमाडौं, कात्तिक २८ : आम चुनाव नजिकिँदै गर्दा कास्की–२ बाट प्रतिनिधिसभा सदस्यका लागि एमाले उम्मेदवार विद्या भट्टराई घरदैलोमा व्यस्त छिन्। उनी त्यहाँकी निवर्तमान सांसद पनि हुन्।
२०७४ सालको निर्वाचनमा सो क्षेत्रमा उनका श्रीमान् रवीन्द्र अधिकारी निर्वाचित भएका थिए। तर पर्यटनमन्त्री रहेकै अवस्थामा २०७५ फागुनमा हेलिकोप्टर दुर्घटनामा रवीन्द्रको निधन भयो। त्यसपछि २०७६ मंसिर ६ गते सम्पन्न उपनिर्वाचनमा एमालेबाट विजयी भएर विद्या सांसद बनेकी हुन्।
त्यतिबेला विद्याले कांग्रेस उम्मेदवार खेमराज पौडेललाई ८ हजार ४०३ मतको अन्तरले पराजित गरेकी थिइन्। उनले २४ हजार ३ ९४ मत प्राप्त गर्दा पौडेलले १५ हजार ९९१ मत ल्याएका थिए।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपप्राध्यापक पद छाडेर सांसद बनेकी उनले यसपटक चुनावी मैदानमा नउत्रिने, पूर्ववर्ती पेसामै फर्किने चाहना राखेकी थिइन्। तर पार्टीले विकल्प नदिएपछि उनले उम्मेदवारी दिइन्। यतिखेर उनी दोस्रोपटक सांसद बन्न चुनावी प्रचारप्रसारमा व्यस्त छिन्।
उनका मुख्य प्रतिस्पर्धीका रूपमा एमालेका पूर्वनेता श्रीनाथ बराल छन्। एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीमा लागेका नेता बराललाई सत्ता पक्षीय गठबन्धनको समर्थन छ। त्यहाँ पूर्वसहकर्मीबीचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ।
पहिलाको तुलनामा विद्यालाई यसपटक चुनाव जित्न त्यति सहज अवस्था भने देखिँदैन। उपनिर्वाचन हुँदा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा थियो। तर अहिले नेकपा फुटेर ती दुई पार्टी पूर्ववत् अवस्थामा छन्। अझ एमाले पनि विभक्त भई एकीकृत समाजवादी बनेको छ। यस्तो अवस्थामा विद्याको मत विभाजित हुने आकलन गरिन्छ।
कास्की–२ मा रवीन्द्रले तीनपटक जितेका थिए। एमालेको किल्ला मानिएको त्यहाँ यसपालि विद्यालाई जित्न चुनौती देखिन्छ। गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको नतिजाले पनि त्यही संकेत गर्छ।
कास्की–२ मा पोखरा महानगरपालिकाका ११ वटा वडा (४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३) छन्। जसमा ६ वटा वडामा कांग्रेस र ५ वडाका एमाले विजयी भएका छन्। वडाध्यक्षका उम्मेदवारहरूको मत जोड्दा कांग्रेसले १९ हजार ८ मत र एमालेले २१ हजार १०० मत पाएका छन्। त्यसैगरी एकीकृत समाजवादीले २ हजार ५३ र माओवादी केन्द्रका उम्मेदवारले १ हजार १९८ मत पाएका थिए। राप्रपाले २ हजार ७९ र अन्य उम्मेदवारले ७५० मत पाए।
सत्ता गठबन्धन दलहरूको मत जोड्दा विद्या पछाडि देखिन्छिन्। केही क्षेत्रमा एमालेले राप्रपा र जसपासँग चुनावी तालमेल गरे पनि सो क्षेत्रमा भने विद्या उमालेकै मतका भरमा गठबन्धनको सामना गर्नुपर्ने भएको छ। स्थानीय निर्वाचनको मत दायाँबायाँ भएन भने यसपटक गठबन्धन विद्यालाई भारी पर्न सक्ने विश्लेषण गरिएको छ।
तर गठबन्धनतिर स्थानीय निर्वाचनको सबै मत आम निर्वाचनमा नखस्ने दाबी एमालेका कार्यकर्ताहरू बताउँछन्। विद्याले जित्न स्थानीय तहको एमाले मत सुरक्षित गर्दै अरू केही मत बटुल्नुपर्ने देखिन्छ। जितहार जे भए पनि स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने उनले बताउँदै आएकी छन्।
को हुन् विद्या भट्टराई ?
२०३० सालमा काठमाडौंमा जन्मेकी विद्याले मित्र मावि चावहिलबाट विद्यालयीय शिक्षा पूरा गरेकी उनले पद्मकन्या क्याम्पसबाट उच्च शिक्षा हासिल गरिन्। २०५९ सालमा समाजशास्त्र–मानवशास्त्रमा स्नातकोत्तर गरेकी विद्याले २०७२ मा समाजशास्त्रमा एमफिल पूरा गरिन्।
विद्यार्थी कालदेखि नै प्रत्यक्ष राजनीतिमा सक्रिय रहँदै आए पनि २०५६ सालमा रवीन्द्रसँग विवाह भएपछि पार्टीमा उनको संलग्नता मात्र रह्यो। उनी मूलतः प्राध्यापनतिर रमाउन थालिन्। उपनिर्वाचन विजयी भएपछि भने उनी राष्ट्रिय राजनीतिमा उदाएकी हुन्। त्यसो त उनी एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी सचिवसम्म भएकी थिइन्।
विद्याको राजनीतिक यात्रा विद्यार्थी कालबाटै सुरु भयो। उनी मित्र माविमा पढ्ने क्रममा कक्षा ७ मा पढ्दा अनेरास्ववियुसँग जोडिएकी हुन्। २०४६ को जनआन्दोलनमा उनले पद्माकन्या क्याम्पसमा अनेरास्ववियुका तर्फबाट अगुवाइ गरेकी थिइन्।
२०४८ सालमा पोखरमा सम्पन्न एकताको राष्ट्रिय सम्मेलनमा उनी अनेरास्ववियुको राष्ट्रिय परिषद् सदस्यमा निर्वाचित भइन्। २०४९ मा पद्माकन्या क्याम्पसमा स्ववियुको सभापतिका लागी उम्मेदवारी दिइन् तर पराजित भइन्।
२०५० सालमा अनेरास्ववियुको केन्द्रीय कमिटी महिला विभाग प्रमुख हुँदै २०५० देखि ५५ सम्म केन्द्रीय सचिवालय सदस्य तथा विभागीय प्रमुख भइन्। २०५५ सालमा उनी अनेरास्ववियु सचिव भएकी हुन्। उनी २०५६ सालमा अनेमसंघको केन्द्रीय सदस्य तथा कार्यालय सचिव भइन्।
रानीतिमा सक्रिय भइरहेकै अवस्थामा विद्याको विवाह २०५६ सालमा एमालेका लोकप्रिय नेता रवीन्द्र अधिकारीसँग भयो। विद्याले पति रवीन्द्रबाट राजनीतिसम्बन्धी धेरै कुरा सिक्न पाइन्। राजनीतिक जीवनमा पति रवीन्द्रबाट ठुलो प्रेरणा मिलेको उनी बताउँछिन्।
२०५८ सालमा बुद्धिजीवी परिषद्को केन्द्रीय सदस्य बनेकी उनी २०५९ सालदेखि त्रिविअन्तर्गतको पृथ्वीनारायण क्याम्पस पोखराबाट प्राध्यापन पेसा आरम्भ गरिन्। उनीसँग १७ वर्ष प्राध्यापनको अनुभव छ।
२०६२÷६३ सालको लोकतान्त्रिक आन्दोलनमा प्रगतिशील प्राध्यापक संगठनमार्फत सक्रिय सहभागिता जनाएकी विद्याले २०६२ देखि २०६४ सालसम्म उच्च शिक्षा पाठ्यक्रम निर्माण समितिको सदस्य र २०६४ सालमा नेकपा एमाले उपत्यका कमिटीको महिला विभाग सचिव भएर काम गरिन्।
२०६२ देखि २०६६ सम्म पार्टी संघयी मामिला विभाग र २०७० देखि २०७४ सम्म पार्टी केन्द्रिय शिक्षा तथा मानव स्रोत विभागको सदस्य भइन्। २०७६ फागुनमा पति रवीन्द्रको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उनी पुनः प्रत्यक्ष राजनीतिमा जोडिएकी हुन्।
२०७८ मा सम्पन्न एमालेको १०औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित विद्या हाल कास्की जिल्ला सहइन्चार्जको जिम्मेवारीमा पनि छिन्।
उपनिर्वाचनपछि संसदमा रहँदा आफूले लैंगिक अधिकार, महिलाको मातृत्व तथा यौन अधिकार, समाज रूपान्तरण, अपांगता भएका व्यक्तिको लोकतान्त्रिक अधिकारबारे वकालत गरेको उनी बताउँछिन्। अधुरा काम सम्पन्न गर्न आफूले फेरि पनि संसदमा पुग्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।
‘विगतका अधुरा योजनालाई पूरा गर्न, सुशासन कायम गर्न, भष्टाचार नियन्त्रण गर्न र समाजवाद उन्मुख समाज निर्माण गर्न यो निर्वाचनमा मेरो उम्मेदवारी हो,’ उनले भनिन्।
संसद् देश विकासका लागि भए पनि विकास कस्तो हुनुपर्छ, कस्तो विकास गरियो भने सबै जनतालाई समेट्न सकिन्छ भन्ने कुरामा ख्याल पुर्याउनुपर्ने उनको भनाइ छ। संविधानले व्याख्या गरेको समन्यायिक विकासको अवधारणालाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने उनी जोड दिन्छिन्।
संविधानले समावेशिताका लागि महिलालाई रानीतिमा आउनुपर्छ भनी ढोका खोलिदिए पनि पिछडिएको वर्ग, जाति र समुदायबाट महिलालाई रानीतिमा ल्याउने मामिलामा दलहरूले अझै गतिलो योजना बनाउन नसकेको उनको भनाइ छ।
‘एमालेले भने अन्य पार्टीको तुलनामा यसपटक सबैभन्दा धेरै महिला उम्मेदवार उठाएको छ,’ उनी भन्छिन्, ‘अहिले महिलालाई उम्मेदवारी दिइएको छ। महिलालाई जिताउने अभियानमा सबै लाग्नुपर्छ र महिलालाई पनि अगाडि ल्याउन व्यावहारिक रूपमै सुरु गर्नुपर्छ।’
मुख्य एजेन्डा के-के छन्?
सामाजिक असमानता र विभेदविरुद्धको विरुद्धको अभियानलाई मजबुत बनाउने र जनताले देखेको विकासको मोडललाई पूरा गर्ने प्रतिबद्धता नै विद्याको मूल एजेन्डा हो। यसअघि सांसद हुँदा आफूले अघि सारेका विकासका योजना कोराना संक्रमण राजनीतिक अस्थिरताका कारणले सयममै पूरा हुन नसेकेकाले यो निर्वाचनमा आफूले उम्मेदवारी दिएको उनीे बताउँछिन्।
सडक पूर्वाधार, युवालाई रोजगार र महिला उद्यमशीलता र गुणस्तरीय सार्वजनिक स्वास्थ्य, शिक्षामा सबैको पहुँच, जनताको जीवन जोडिएर पोखराको प्राकृतिक सम्पन्नताको रक्षा गर्दै, समृद्ध पोखरा निर्माण अभियान पनि उनका चुनावी एजेन्डा हुन्।
महिलाको मुद्दामा उनी बढी सचेत देखिन्छन्। जबसम्म महिलाहरूलाई उद्यमशीलल बनाउन सकिँदैन तबसम्म उनीहरूमाथिकोे हिंसा अन्त्य नहुने उनको भनाइ छ। यसका लागि मौजुदा कानुनको प्रभावकारी कार्यान्वयन पनि आवश्यक रहेको उनी बताउँछिन्।
‘महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन सुरुमा आर्थिक रूपमा सबल बनाउनु जरुरी छ,’ उनी भन्छिन्, ‘महिलामाथि हुने हिंसा पनि अन्त्य गर्नु नितान्त आवश्यक छ। यसका लागि पनि महत्वपूर्ण काम गर्ने हिसाबले मैले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी हुँ।’