दीप र अभिलाषालाई वीर गणेशमान टेनिस एकलतर्फको उपाधि
महिलातर्फ अभिलाषाले फाइनलमा सुनीरा थापालाई ६–२ र ७–६ ले पराजित गरिन्। महिलातर्फ आयिशा डोल्कर गुरुङ र सर्भानी श्रेष्ठ संयुक्त तेस्रो स्थानमा रहिन्।
काठमाडौं, कात्तिक २६ : प्रदीप खड्का र अभिलाषा विष्टले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत एकलतर्फको उपाधि जितेका छन्।
सातदोबाटोस्थित टेनिस कोर्टमा शनिबार पुरुष एकलतर्फ प्रदीप र महिला एकलतर्फ अभिलाषा च्याम्पियन बनेका हुन्। प्रदीपले फाइनलमा ऋतिक रानालाई ६–४ र ६–४ ले पराजित गर्दै उपाधि हात पारे। प्रदीप नवौं राष्ट्रिय खेलकुदका पुरुष एकलको स्वर्णधारी समेत हुन्। पुरुष एकलमा निशान श्रेष्ठ र प्रणव खनाल संयुक्त तेस्रो स्थानमा रहे।
महिलातर्फ अभिलाषाले फाइनलमा सुनीरा थापालाई ६–२ र ७–६ ले पराजित गरिन्। महिलातर्फ आयिशा डोल्कर गुरुङ र सर्भानी श्रेष्ठ संयुक्त तेस्रो स्थानमा रहिन्।
पुरुष डबल्सको उपाधि ऋतिक राना र निशान श्रेष्ठको जोडीले जिते। प्रदीप खड्का र प्रणव खनालको जोडी दोस्रो र सक्क्षम बिक्रम शाह र राजबिर प्रधान तथा केशव प्रसाद गौचन र शौरभ नाथ पन्तको जोडी तेस्रो भए।
पुरुषको ३५ वर्षमाथिको एकलतर्फको उपाधि कमल बहादुर भण्डारीले जिते। जितेन्द्र परियार दोस्रो तथा सन्तोष खत्री र सिमान्त गुरुङ तेस्रो भए।
पुरुषको ४५ वर्षमाथिको एकलको उपाधि महेश श्रेष्ठले हात पारे। विमल कुमार गुरुङ दोस्रो तथा रोहित सुनुवार र मनोज बिक्रम शाह संयुक्त तेस्रो भए। पुरुषकै ५५ वर्षमाथि एकलको उपाधि विमल कुमार गुरुङले हात पारे। उत्तम कुमार लामा दोस्रो तथा जीवन घिमिरे र निराजन श्रेष्ठ संयुक्त तेस्रो भए। पुरुषको ६५ वर्षमाथि एकलको उपाधि बिदुर विष्टले हात पारे।
ज्ञानेन्द्र मान ताम्राकार दोस्रो तथा हर्क बहादुर गुरुङ तेस्रो भए। प्रतियोगितामा महिला र पुरुष एकल विजेताले ट्रफी मेडलसहित ८० हजार, दोस्रोले ४० र तेस्रोले २० हजार नगद पुरस्कार प्राप्त गरे। पुरुष डबल्सको विजेताले ४० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार प्राप्त गरे।
पुरुष ३५ वर्षमाथि एकलका शीर्ष तीनले क्रमशः ४० हजार,२० हजार र १० हजार प्राप्त गर्दा पुरुष ३५ वर्षमाथि डबल्सका शीर्ष तीनले २५ हजार,१५ हजार र ५ हजार पाएका छन्। वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिको आयोजनामा प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा भएको थियो।











