निर्वाचनको सुरक्षाका लागि उच्च मनोबल साथ काम गर्नुस् : थपलिया
उनले मतदान केन्द्रमा सही मतदाता आएका छन् या अवरोध गर्ने तत्वहरू आएका छन्, त्यसको सूक्ष्म विश्लेषण गर्न आग्रह गरे।
चितवन, कात्तिक २६ : प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उच्च मनोबलका साथ काम गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन्।
मंसिसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा कसैको प्रलोभन, डर, त्रास, धम्की वा अवरोधबाट माथि उठेर मतदाताले विवेकको मत हाल्न पाउने वातावरण सिर्जनाका लागि उच्च मनोबलका साथ काम गर्न नेपाल प्रहरीका अधिकृत र जवानहरूलाई उनले निर्देशन दिएका हुन्।
भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयका अधिकृत र तालिममा रहेका प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै उनले सत्य सेवा सुरक्षणमको संकल्पसहित प्रहरीले मतदानस्थलमा खटिएर सुरक्षित मतदान कार्यमा सघाउँदै आएको बताए। निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन चनाखो भएर लाग्न उनले आग्रह पनि गरे।
‘कुनै दल र उम्मेदवारले मतदातालाई प्रभावित पार्न नगद वा जिन्सी सामान दिएको पाइएमा ठाउँको ठाउँ कारबाही गर्न नेपाल प्रहरीलाई अधिकार सुम्पिएको छ,’ उनले भने, ‘मतदाता, मतपेटिका र मतगणना कार्यको सुरक्षा गरेर निर्वाचनको निष्ठा जोगाउने कार्यमा सघाउनुहोस्।’
उनले मतदान केन्द्रमा सही मतदाता आएका छन् या अवरोध गर्ने तत्वहरू आएका छन्, त्यसको सूक्ष्म विश्लेषण गर्न आग्रह गरे।
साथै उनले निर्वाचनलाई प्रचलित कानूनबमोजिम निष्पक्ष बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूको भूमिका महत्वपूर्ण हुने बताए। उनले निर्वाचनमा कसैको प्रलोभन, डर, त्रास, धम्की वा अवरोधबाट माथि उठेर मतदाताले विवेकको मत हाल्न पाउने वातावरण सिर्जनाका लागि जिम्मेवारीलाई तटस्थ, इमानदार र निष्पक्ष भएर गहनरूपमा महसुस गरेर काम गर्न निर्देशन दिए ।











